डा. भरतराज गौतम संघीय संसदको महासचिवमा नियुक्त भएका छन् ।
गौतम यसअघि संसद सचिवालयमा सचिव थिए । सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गौतमलाई महासचिव नियुक्त गरेका हुन् ।
मनोहरप्रसाद भट्टराईको कार्यकाल सकिएपछि सभामुख सापकोटाले संसदका सचिव गोपालनाथ योगीलाई कार्यबाह महासचिवको जिम्मेवारी दिएका थिए । आफूसँग सल्लाह नगरी सापकोटाले एकलौटी योगीलाई कार्यबाहक महासचिव नियुक्त गरेको भन्दै तिमिल्सिनाले आपत्ति जनाएका थिए ।
उनले सञ्चार माध्यममा अन्तर्वार्तासमेत दिएर सापकोटा र आफ्नो हैसियत समान रहेको जिकिर गरेका थिए ।
श्र्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले गौतमलाई महासचिव नियुक्त गर्न सभामुख सापकोटालाई दबाब दिएका थिए । ओलीले केही दिनअघि सापकोटालाई बालुवाटार बोलाएर तत्काल गौतमलाई महासचिवको जिम्मेवारी दिन दबाब दिएका हुन् ।