सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन अवधि फेरि थप गर्ने भएको छ ।
सोमबार बसेको उच्चस्तरीय समन्वय समिति बैठकले महामारी फैलने सम्भावना रहेको निस्कर्षसहित लकडाउन बढाउनुपर्ने निर्णय गरेको हो ।
भारतमा कोभिड–१९ महामारी बढ्दो क्रममा रहेको र नेपालमा समेत नयाँ संक्रमित बढ्दै गएकाले लकडाउन बढाउनुको विकल्प नरहेको निस्कर्ष समितिले निकालेको छ ।
‘भारतमा महामारी फैलिएको छ’, समिति सदस्य समेत रहेका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले काठमाण्डुटुडेसँग भने, ‘अहिलेको अवस्थामा लकडाउन बढाउनुको विकल्प छैन ।’ यद्यपि कति दिन लकडाउन बढ्ने भन्नेबारे विभिन्न प्रस्ताव आएको उनले जानकारी दिए ।
मन्त्री भट्टले भोलि (मंगलबार) को समिति बैठकले सिफारिस गर्ने र बुधबारको मन्त्रिपरिषद बैठकले लकडाउन थप गर्ने जानकारी दिए ।
सरकारले यसअघि थप गरेको लकडाउन अवधि २५ वैशाखमा सकिँदैछ । यसअघि मुलुकका विभिन्न क्षेत्रलाई रेड, एल्लो र ग्रिन जोनमा वर्गीकरण गरी क्रमशः लकडाउन हटाउने तयारी सरकारले गरेको थियो ।
तर, बाँकेको नेपालगञ्जमा आइतबार एकै दिन १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।