कृष्ण कँडेल
बागलुङ, २४ कात्तिक – जिल्ला शिक्षा कार्यालय बागलुङले चालु शैक्षिक सत्रदेखि एक शिक्षक एक झोला र एक विद्यालय एक पुस्तकालय कार्यक्रम सुरु गरेको छ । विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच कार्यसम्पादन सम्झौता गरि यि दुई कार्यक्रम सुरु गरिएको हो ।
उपलब्धी सुधार र शैक्षिक व्यवस्थानलाई केन्द्रित गरि जिल्ला शिक्षा कार्यालयले तयार गरेको १९ बुँदे कार्यसम्पादन सम्झौता पत्रमा जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यपकबीच सम्झौता भएपछि ३०१ विद्यालयमा कार्यक्रम लागु भएको छ । जिल्लाका जम्मा ५२६ मध्ये बागलुङ बजार क्षेत्रदेखि बिहुँसम्मका १२८ र निर्वाचन क्षेत्र नम्बर–३ का १७३ विद्यालयमा कार्यक्रम सुरु भईसकेको छ । गलकोट र कुश्मिसेरा क्षेत्रका २२५ विद्यालयमा सम्झौता हुन बाँकी रहेकाले सम्झौतापछि कार्यक्रम सुरु हुनेछ ।
सिकाईलाई प्रभावकारी बनाउन शिक्षकलाई चाहिने दैनिक पाठ योजना, शैक्षिक सामग्री, पाठ्यक्रम तथा पाठ्यपुस्तक राख्नका लागि सजिलो होस भनेर एक झोला कार्यक्रम सुरु गरिएको जिशिअ विष्णुप्रसाद मिश्रले जानकारी दिए । ‘शिक्षक पुर्ण तयारी साथ कक्षा कोठामा पुगे भने मात्र शिक्षण र सिकाई प्रभावकारी हुन्छ’ जिशिअ मिश्रले भने, ‘सिकाईको प्रभावकारीताबाट नै शैक्षिक उपलब्धी बढाउन सकिन्छ, त्यसैले हामीले एक शिक्षक एक झोला कार्यक्रम सुरु गरेका हौँ ।’
विद्यार्थीमा पठन सिप कमजोर देखिएकाले अभिवृद्धि गर्न ‘एक विद्यालय एक पुस्तकालय’ कार्यक्रम पनि सँगै सञ्चालन गरिएको छ । ‘पठनका लागि पुस्तकालय अनिवार्य देखियो त्यसैले यो कार्यक्रम सुरु गरेका छौँ ।’ जिशिकाका सुचना अधिकारी खेम आचार्यले भने, ‘प्रत्येक विद्यालयमा पुस्तकालय हुनै पर्छ ।’ यि दुवै कार्यक्रम जिल्ला शिक्षा कार्यालयमार्फत उपलब्ध गराईने प्रतिविद्यार्थी एकाई लागत अनुदानबाट सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ ।
शिक्षा मन्त्रालयले प्राथमिक तह (१–५) मा प्रतिविद्यार्थी १५०, अधारभुत तह (६–८) र माध्यामिक तह (९–१०) मा प्रतिविद्यार्थी २०० र मावि तह (११–१२) मा २५० रुपैया प्रति विद्यार्थी लागत अनुदान रकम दिने गर्दछ । जिल्लामा चालु आबमा सिकाई उपलब्धि ७ प्रतिशत बढाउने लक्ष्य जिल्ला शिक्षाले राखेको छ । ‘अहिले हाम्रो सिकाई उपलब्धि ४७.३० प्रतिशत छ’ शाखा अधिकृत लोकनाथ आचार्यले भने, ‘यो शैक्षिक सत्रको अन्त्यमा बढाएर ५४.३० पु¥याईने छ ।’
Previous Articleएनआईसी एशिया बैंक बागलुङमा
Next Article २४ कात्तिक २०७३, ढोरपाटन दैनिक