बागलुङ, २४ कात्तिक
भौतिक योजना तथा निर्माण मन्त्रालयले बागलुङमा थप तीन वटा सडक निर्माणका लागि स्विकृति दिएको छ ।
जिल्ला परिषद र बजेटमा समावेश नभएका तीन वटा योजना जिल्लाका राजनीतिककर्मीको पहलमा थप भएका हुन् । बिहुँको रिजालचोक देखि अमरभूमि, माझखर्क, दरमखोला, लाकुडाँडा, हरिचौर हुँदै भैसे पुगेर मध्यपहाडी लोकमार्गमा जोडिने सडक थप भएको हो । उक्त सडक मध्यपहाडी लोकमार्गको बैकल्पिक तथा पछि गएर छुट्टै अस्तित्वको सडकको रुपमा स्थापित हुने गरी स्विकृति दिइएको हो । ३५ किमी लामो उक्त सडकका लागि के कति लागत लाग्ने हो त्यसको डिपिआर निर्माण विभागले गर्ने डिभिजन इन्जिनियर थानेश्वर खत्रीले बताए । उक्त सडक बनेपछि गलकोट क्षेत्रमा पुग्न मध्यपहाडी बाहेकको सहज विकल्प बन्नेछ । त्यस्तै राजमार्गको सहयोगी सडक पनि हुनेछ ।
त्यस्तै क्षेत्र नं. ३ को दगातुम्डाँडाको राक्से देखि जिमी, तुम्डाँडा, सिसाखानी, पाण्डवखानी जाने एउटा र बुर्तिवाङ देखि रिनाम, मिमाल, असारेडाँडा तर्फको अर्को सडक निर्माणका लागि पनि योजना परेको हो । यी दुवै योजनालाइ क्षेत्रीय सडक योजनाको नामाकरण भएको छ । पहिलो चरणका लागि क्षेत्रीय सडकलाइ ८ लाख रुपैयाँको दरले रकम प्राप्त हुनेछ भने रणनीतिक सडकलाइ आवस्यकता अनुसार प्राप्त हुनेछ । कांग्रेस क्षेत्र नं. ३ का सभापति द्रोणराज कुँवरको नेतृत्वमा मन्त्री रमेश लेखक र राष्ट्रिय योजना आयोगका पदाधिकारी भेटमा उक्त योजना थप भएका हुन् । कुँवरले जिल्लाको विकास निर्माणमा निरन्तर मन्त्री र आयोगमा दवाव दिने तथा माग बढाइरहेका छन् ।
ती योजनाहरु सबै बहुबर्षे भएकोले आवस्यक डिपिआर बनाउने र लागत स्टिमेट तयार गर्नुपर्नेछ । यसरी लागत आइसकेपछि हरेक बर्ष बजेट आएर निर्माणको काम चल्नेछ । ‘लागत स्टिमेट गरेर विभागलाइ पठाएपछि बजेट प्राप्त भइ काम शुरु हुनेछ’ खत्रीले भने, ‘जिल्लाको विकासका लागि यी आयोजनाले थप टेवा पुग्नेछ ।’ भौगोलिक रुपमा कठिन भएकोले जिल्लाको सुदुर पश्चिम सम्म विकासको गति पुग्न सकेको छैन । मध्यपहाडी लोकमार्ग र अन्य क्षेत्रीय सडकहरु बन्ने तथा स्तरउन्नती भएमा मात्र अन्य विकासले गति लिन सक्ने सरोकारवाला बताउँछन् । यी आयोजनाले विशेषगरी गलकोट र निर्वाचन क्षेत्र नं. ३ लाइ बढी फाइदा पुग्छ । ती क्षेत्रमा अहिले पनि शिक्षा, स्वास्थ्य र यातायातको विकास हुन सकेको छैन ।
पर्यटकीय दृष्टीले महत्वपूर्ण गन्तव्य मानिएपनि सडक संजाल र सहज पहुँच नभएकै कारण चाहेजस्तो विकास हुन सकेको थिएन । यो क्षेत्रमा घुम्टे, ऐतिहासिक गलकोट दरवार, ढोरपाटन, पाण्डवखानी लगायतका पर्यटकीय क्षेत्र पर्छन् । डिपिआर बनेर आएपछि बहुवर्षे ठेक्का तथा निरन्तर बजेट आउने बाटो खुल्ने पनि खत्रीले जानकारी दिए । स्थानीय देखि जिल्ला तहका नेता र उपभोक्ताले पनि निरन्तर पहल गरेपछि मन्त्रालय सम्म योजना थपको दवाव परेको थियो । परेका योजनालाइ तत्काल काम थाल्ने र निरन्तर मर्मत गर्न सकेमा मात्र ती सडकको औचित्य हुने पनि स्थानीयले बताए । सबैको चाहना अनुसार स्तरउन्नती तथा नयाँ सडकको पनि गुणस्तर दिन प्रतिवद्ध रहेको खत्रीले बताए । हाल जिल्लामा एक हजार २ सय किमी मोटर मार्ग भएपनि मर्मत र स्तरउन्नती अभावमा बर्षातमा केही स्थानमा मात्र सवारी चल्ने गरेका छन् ।
Previous Article२३ कात्तिक २०७३, धौलागिरी स्टार साप्ताहिक
Next Article बिलम्वले निम्तने संकट