प्रतिनिधिसभा सभाको रिक्त रहेको सभामुख पदका लागि माघ १२ गते चुनाव हुने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकको अध्यक्षता गरेका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाएका थिए । लगत्तै उनले प्रतिनिधिसभा नियमावलीको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको चुनाव माघ १२ गतेका लागि निर्धारण गर्दे चुनावको कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए ।
उपसभामुख तुम्बाहाङ्फेको राजीनामापछि ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले प्रतिनिधिसभाको अध्यक्षता गरेका हुन् । यसअघि ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक माघ १२ गते आइतबार अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
यसैबीच, सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार मङ्गलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ १२ गते आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको चुनाव हुनेछ ।
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भए पनि सभामुख पद रिक्त रहेका कारण एक महिनासम्म संसद बैठक प्रभावित हुँदै आएको थियो । असोज १४ गते कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ ।