बाटोको हिउँ नपग्लिँदा म्याग्दीको हिमाली क्षेत्र गूर्जामा पाँच दिनदेखि आवतजावत ठप्प भएको छ । मौसम बद्लीसँगै परेको भारी हिमपात र वर्षाका कारण गएको बिहीबारदेखि पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–१, गूर्जामा आवतजावत गर्न समस्या भएको हो ।
गूर्जा र लुलाङको सिमानामा पर्ने देउराली जङ्गलको बाटो क्षेत्रमा मात्रै ३ फिटभन्दा बढी हिउँ जमेपछि आवतजावत बन्द भएको गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिएका छन् । समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटरको उचाइमा अवस्थित देउराली वन क्षेत्रको बाटो र आसपासको अधिकांश ठाउँमा परेको हिउँ नपग्लिँदा आवतजावत गर्न समस्या भएको उनले बताए ।
धवलागिरी गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष छन्त्यालका अनुसार बाटोमा हिउँ जमेका कारण गूर्जामा खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरु ढुवानी गर्न समस्या भएको छ । यसैगरी सामान ओसार्ने घोडा, खच्चड हिँडाउन र स्थानीयलाई दैनिक कामकाज गर्नका लागि पनि हिउँ नपग्लिँदा सास्ती खेप्नुपरेको छ । तीन दिनसम्म परेको भारी हिमपात र वर्षाका कारण जनजीवन समेत प्रभावित भएको छ । सेताम्य हिउँले पैदलमार्ग पुरेपछि स्थानीयलाई गूर्जाबाट गाउँपालिकाको केन्द्र मुनामा आउन समस्या भैरहेको अध्यक्ष छन्त्यालले बताए ।
गाउँपालिकाको वडा नं १ गूर्जा र वडा नं २ लुलाङको सिमाना पर्ने देउरालीमा झण्डै चार फिट हिमपात भएको स्थानीयले बताएका छन् । देउराली गूर्जा गाउँ जोड्ने घना जङ्गल हो भने चट्टानजस्तै हिउँ जमेका कारण पदमार्ग पुरिएको छ । घना वन जङ्गलको क्षेत्र भएकाले पनि हिउँ नपग्लिँदा समस्या भएको जनाइएको छ । आवतजावतको क्रममा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी खाद्यान्नसहितका सामग्री ढुवानीको तयारीमा रहेका खच्चड र भरियारलाई आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
भारी हिमपातले गूर्जाबाट लुलाङ आउन र गूर्जा जानका लागि पनि समस्या भैरहेको छ । हिमपातकै कारण ढोरपाटन शिकार आरक्ष अन्तरगत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटो समेत अवरुद्ध बनेको छ । गूर्जाको एउटै वस्तीमा करिब ३ सय घरधुरीको बसोबास छ भने अधिकांश छन्त्याल समुदाय रहेका छन् । गूर्जामा हिमपातले आवतजावतमा समस्या हुने भएकाले स्थानीयले प्रायः तीन महिनालाई पुग्ने खाद्यान्न जोहो गरेर राख्ने गरेका छन् । हिमपातले हिमाली क्षेत्र गूर्जामा मंसिरदेखि माघ महिनासम्म असर गर्दै आइरहेको छ ।
यसैबीच हिमपातले अवरुद्ध बनेको बाटो खुलाउनका लागि स्थानीयले तयारी गरेका छन् । हिमपात र वर्षाका कारण बन्द भएको जनकल्याण माध्यमिक विद्यालय गूर्जाको पठनपाठन भने आइतबारदेखि सञ्चालनमा आएको छ । हिमपातकै कारण जलविद्युत र सञ्चार सेवा पनि एकदिन बन्द भएर पुनः सञ्चालनमा ल्याइएको छ । गूर्जा गाउँमा समस्या नभए पनि गूर्जा जाने र गूर्जाबाट आउने पैदलमार्ग समस्या भएको छ ।
Previous Articleप्रतिनिधि सभाको सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक
Next Article हारेर पनि जितेकी नेतृ