विद्यार्थी जीवनमा आइपर्ने विभिन्न समस्याहरुसँग जुध्न र खुशी जीवन जिउनका लागि विद्यार्थीहरुलाई योगका विषयमा प्रशिक्षण दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै महारानीथानमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई योगसम्बन्धी प्रशिक्षण गराइएको हो ।
विद्यालयको कक्षा १० र ११ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालित योग प्रशिक्षणमा सकारात्मक सोच, सात्विक भोजन, नियमित अभ्यास र निश्चित सङ्कल्पको माध्यमबाट मनलाई स्वस्थ राखी खुशी जीवन बिताउन सकिने विषयहरुमा सजीकरण गरिएको थियो । कार्यक्रमको अवसरमा विद्यार्थीहरुलाई विभिन्न किसिमका योगसम्बन्धी अभ्यास समेत गराइएको विद्यालयले जनाएको छ ।
विद्यालयका शैक्षिक निर्देशक राजु केसीको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति लेखबहादुर हमालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बह्माकुमारी ईश्वरिय विश्वविद्यालयकी सञ्चालिका रिना दिदी र मुख्य प्रशिक्षक रमण भट्टराईले सहजीकरण गरेका थिए ।