राजेशचन्द्र राजभण्डारी
नेपालकै पुरानो सामुदायिक बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङले आयोजना गरेको एउटा ठुलो महान् अभियान सभ्य र भब्य रूपमा सम्पन्न भएको छ । भुकम्पबाट प्रभावित बिद्यालयको पुर्ननिर्माण गर्ने उदेश्यले आयोजना गरिएको ८ दिने, कालीगण्डकी बागलुङ कालिका धार्मिक शैक्षिक महोत्सव धन–धान्याचल महायज्ञको सफलताले शैक्षिक जगतमा थप नयाँ उर्जा थपेको छ । करिब ५ करोड रूपैयाँ सहयोग जुटाउन सफल महायज्ञ धौलागिरि क्षेत्रमा मात्र नभएर नेपाल मै सामुदायिक बिद्यालय पुर्ननिर्माण अभियानमा नयाँ इतिहास रच्न सफल भएको दिनको घामझै छर्लङ्ग छ ।
वि. सं. १९९७ सालमा समाजसेवी शिक्षाप्रेमी काका ओम प्रसाद गौचन र मेघकुमार बैद्यको नेतृत्वमा स्थापना भएको बिद्यालय ले ७ दशकसम्म हजारौं जनताका छोराछोरीलाई शिक्षा मात्र दिएन यस बिद्यालयले सयौ सक्षम मान्छेलाई देशको प्रमुख पदमा पु¥याउन समेत सफल बन्यो । जहाँनिया राणा शासनको समयमा जनताको छोरा छोरीले स्कुलमा गएर पढ्ने भन्ने कुरा निकै चुनौतिपुर्ण काम थियो । साँच्चै नै जनताको छोराछोरीलाई शिक्षा उज्यालो घाम देखाउने अठोट गरि काका गौचन र बैद्यले बिद्यामन्दिर स्कुल खोल्नु भएपछि बागलुङ जिल्लामा शिक्षाको सँस्थागत शुरूवात भयो ।
स्कुल खोल्नु मात्र ठुलो कुरा होइन, त्यसलाई सँस्थागत रूपमा चलाउने प्रमुख कुरा हो । आजभन्दा ७६ बर्षअघि स्थापना भएको स्कुल अहिले पनि पुरानो मुल्य र मान्यतालाई जोगाउदै पुर्ननिर्माण गर्ने अभियानमा सबै बागलुङबासी एक भएर देखाउन सफल भएको छ । कार्तिक ३ गतेदेखि १० गतेसम्म भएको महायज्ञबाट ५ करोडभन्दा बढी रकम संकलन गर्न सफल मात्र भएको छैन ५ हजारभन्दा बढि बिद्यार्थीलाई भेला गराएर पुर्नेमिलन गराउने जुन काम भयो त्यो पनि ऐतिहासिक रूपमा सम्पन्न भएको मान्नुपर्छ । बिद्यामन्दिर स्कुलको लागि सबै एकजुट भएको मौकालाई अब भने खेर फाल्न हुन्न । हिजो नेपालमा स्कुलको नामो निसान नभएको बेला स्थापना भएको सामुुदायिक स्कुललाई अब सबैले साँच्चिकै नमुना बनाउने अठोट गर्नु जरुरी छ ।
अहिले सामुदायिक स्कुल भन्दा पनि निजी स्कुलमा आफ्ना छोराछोरी पढाउने लहर चलिरहेको समयमा बिद्यामन्दिरलाई बैशाख १२ र २९ को महाभुकम्पले थिलोठिलो पारेर नयाँ भबन बनाउने महान अभियान चलेको समयमा अब भने भबन मात्रै होइन पढाई समेत नमुनाको बनाउनु पर्ने माग सर्बत्र चलिरहेको छ ।
अहिले जसरी स्कुलको महायज्ञ सफल पार्न सबै एकजुट भए कार्तिक महिना चाडपर्व चलिरहेको समयमा समेत हरेक दिन हजारौं को सहभागीता हुनु स्कुल पुर्ननिर्माण अभियानलाई आफ्नो क्षमता अनुसार २ हजारदेखि १२ लाख ५० हजार सम्मको रकम दान गरे । जसलाई सबैले प्रशंसा गरेका छन् । जुन पबित्र उदेश्यले आज यस बिद्यालयलाई रकम दान गरे अब भने यसलाई सबैको भावना र चाहना अनुसार स्कुल पुर्ननिर्माण समयमै सम्पन्न गर्न जरुरी छ । अब बिद्यामन्दिर लाई प्रदेश नम्बर ४ कै नमुना सामुदायिक बिद्यालय बनाउने जिम्मेवारी समुदायले सुम्पेको छ त्यो कुरा लाई मनन गर्न जरुरी छ ।
अहिलेको अभियानलाई सफल पार्न बिद्यार्थी, शिक्षक, अभिभावक, महायज्ञ आयोजकले दिन रात नभनी जुन महाअभियानमा सरिक भए । कुनै पनि कामलाई सानो भनेनन् । कुनै पनि काम तेरो र मेरो भनेको पनि देखिएन । महायज्ञ शुरू भएको दिनदेखि अन्तिम दिन सम्म सबैले आफ्नो कर्तव्य पूरा गरे बागलुङको इतिहासमा यो पनि स्मरणीय रहनेछ । हिजो आफुले पढेको स्कुललाई राम्रो बनाउनको लागि धेरै बर्षपछि बागलुङ आएर महा अभियानमा सहभागी मात्र भएनन् अब बिद्यामन्दिरलाई हुँदा खानेदेखि हुनेखाने सबैको छोराछोरी पढ्ने साझा स्कुल मात्र होइन यसलाई विश्व बिद्यालय बनाउनु पर्ने सुझाव आएको छ । अबश्य पनि नेपालकै पुरानो इतिहास बोकेको यो बिद्यालय लाई नमुना बिद्यालय बनाउने कुरा आफ्नो ठाउँमा चुनौतिको काम त छदैछ । अब यसलाई राम्रो बनाउन सबैभन्दा पहिलो दायित्व बिद्यालय परिवार, बिद्यालय ब्यबस्थापन समिति, अहिलेको महायज्ञ आयोजक समिति, अभिभावक, समुदायको दायित्व हो । सबै एकजुट हुने हो भने जे कुरा पनि संभब छ । समाज परिबर्तन गर्न आफुपनि परिवर्तन हुन जरुरी छ । जनताले पनि आफ्नो छोराछोरी महंगो शुल्क तिरेर निजी स्कुलमा राख्ने तर आफ्नो समाजको सामुदायिक स्कुलमा हुने पढाईमा बिश्वास नगर्ने जुन मानसिकता छ त्योबाट मुक्त हुन जरुरी छ । शिक्षालाई ब्यापारिक मानसिकता बाट माथि उठाउन जरुरी छ । शिक्षा हुने खाने बर्गको मात्र पहुँचबाट मुक्त गरि सबैलाई समान बनाउन जरुरी छ । अब हामीले यसलाई आजकै दिनदेखि अर्को महाअभियान शुरू गर्न जरुरी छ ।
हिजोको दिनमा माबि तह र उच्च माबि बिच अन्तर थियो । हिजोको दिनमा खाली उच्च माबिलाई मात्र राम्रो बनाउने बल भएकै हो । आज सरकारले कक्षा १२ सम्मलाई माबि तह बनाउने निर्णय गरेपछि भने अब बिद्यालयलाई राम्रो बनाउन बाध्य भने बनाएको छ । सरकारले सबैलाई एउटा अवसर दिएको छ । अब बिद्यालयलाई साँच्चिकै सरस्वतीको मन्दिर बनाउन दिएको अबसरलाई हामीले सहि ढंगले प्रयोग गर्न जरुरी छ । आज ७६ बर्षपछि बागलुङबासी जसरी जुरुक्क उठे त्यो कुरालाई बिद्यालय परिवारले मनन गरि बागलुङबासीको चाहना भावना बमोजिम संस्थापक ओमप्रसाद काका र मेघकुमार बैद्यले शुरूवात गरेको बिद्यालयलाई सोही अनुसार बैज्ञानिक र ब्यबहारिक शिक्षाको पबित्र मन्दिर बनाउने अभियान थाल्नु जरुरी छ । अहिले त खाली एउटा अभियान पूरा भएको हो हामीसँग थुप्रै अभियान बाँकी छ ।
जुन जिम्मेवारी समाजले सुम्पेको छ त्यसलाई इमान्दारीपुर्बक पुरा गरौ । अहिले अभियानमा २७ वटा कोठा बनाउने सहयोगी हात अघि बढि सकेका छन् । भोलि स्कुल निर्माणदेखि पूरा हुँदासम्म सयौ सहयोगी मन भएका दाताहरू अबश्य आउने छन् । यो बिद्यालयले हजारौं बिद्यार्थीलाई शिक्षा दिएर समाजमा असल र सक्षम मान्छे बनाउने जुन भुमिका खेल्यो त्यसकै कारण पनि बागलुङको बिद्यामन्दिर माबि नेपालमै चर्चित बनेको छ । अब अलमल नगरी महाअभियानलाई पूरा गर्ने जिम्मेवारी पूरा गरौ ।