हिमालपारीको जिल्ला मुस्ताङको लोमन्थाङमा जाडोको समयमा पनि प्रहरी चिसोमा काँप्दै आफ्नो जिम्मेवारी बहन गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी तुलबहादुर कार्कीले बताउनुभएको छ । उक्त कुरा उहाँले इन्सेक प्रदेश कार्यालय पोखराले जोमसोममा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा बताउनु भएको हो ।
डिएसपी कार्कीले पहाड तथा तराईकै जस्तो कपडाको भरमा माइनस १० डिग्री भन्दा चिसो हुने मुस्ताङको लोमन्थाङ, छोन्हुप, छोसेरलगायता स्थानमा प्रहरी ड्युटीमा खटेको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘राज्यले दिएको जिम्मेवारी पुरा गर्न कुनै कसर प्रहरीले बाँकी नराखेको भएपनि चिसोमा अलिक न्याना कपडा आवश्यक छ ।’ उहाँका अनुसार उपल्लो मुस्ताङको चिसो थेग्ने प्रकारको प्रहरीले प्रयोग गर्ने कपडा नै छैन ।
मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले महिलाहरू अरूमा आश्रित नभइ आत्मनिर्भर भएको कारणले गर्दा मुस्ताङमा महिला हिंसाका घटनाहरू नहुने बताउनुभयो ।
उहाँले जिल्लाको उपल्लो भेगका लोमन्थाङमा स्वास्थ्य प्राविधिक नभएर जनतालाई स्वास्थ्य सेवा लिन असहज छ भन्ने कुरा थप्नुभयो ।
घरपझोङ गाउँपालिकाकी महिला बालबालिका अधिकृत सरिता थकालीले मुस्ताङमा १४ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई श्रममा नलगाइएको बताउँदै जिल्लामा ५ देखि ९ वर्ष उमेर समूहका बालबालिका शिक्षा लिनबाट कोही पनि वञ्चित नरहेको बताउनुभयो ।
उहाँले घरपझोङ गाउँपालिकाको न्यायिक समितिमा अहिले सम्म कुनै पनि लिखित उजुरी नपरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कारागार मुस्ताङका जेलर विनोद अर्यालले २०३७ साल भन्दा पहिला बनेको कारागार भवनमा अहिले राखिएका १० जना कैदीबन्दीहरूलाई भौतिक पूर्वाधार राम्रो नहुँदा राख्न पनि निकै मुस्किल भएको बताउनुभयो ।