बागलुङ, २२ कात्तिक – बुर्तिबाङका राजनैतिक दलले पछिल्लोपटक प्रस्तावित बुर्तिबाङसहित ६ गाविसको गाउँपालिकालाई नगरपालिका बनाउन माग गरेका छन् ।
जिल्लामा भएको सर्वदलिय बैठकमा शुक्रबार बुर्तिबाङसहित राजकुत, बोबाङ, अधिकारीचौर, दर्लिङ र भिमगिठेलाई गाउँपालिका प्रश्ताव गरिएको थियो । आइतबा बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईको संयोजनमा बुर्तिबाङमा भएको सर्वदलिय बैठकमा जिल्ला प्राविधिक सहयोग समितिको प्रस्तावप्रति आपत्ति जनाउँदै नगरपालिकाको लागि जिल्लामा दबाव दिने निर्णय गरेका छन् ।
३ लाख जनसंख्यालाई बसाउने गरि ५० रोपनी जग्गा लिएर बुर्तिबाङ नयाँ शहर बन्दै गरेको लगायत सम्पुर्ण पुर्वाधार पुग्ने भन्दै नगरपालिका बनाउनै पर्ने माग गरेका हुन् । पुर्वाधार, जनसंख्या, सुगमता लगात सबै मापदण्ड पुरा भएको अवस्थामा पनि नगरपालिका प्रस्ताव नगरिनु दुखद रहेको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चन्द्र अर्यालले बताए ।
यि ६ ओटा गाविसमा ३७ हजार १७३ जनसंख्या छ । नगरपालिकाको लागि ३१ हजार भए पुग्छ । उनले नगरपालिका सिफारिस नभए दबावका लागि जस्तोसुकै आन्दोलनमा जाने निर्णय भएको बताए ।
‘बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को प्रशासनिक तथा व्यापारिक केन्द्र नगरपालिका बन्न किन सकेन ?’ बुर्तिबाङ नगरविकास समितिका पुर्वअध्यक्ष तुलसीराम अर्यालले भने, ‘नमुना शहर विकास बन्दैछ, एकीकृत सेवा केन्द्र, बन्दै गरेको जिल्ला अस्पताल, बैंक वित्तिय संस्था, मध्यपहाडी लोकमार्ग यि सबै पुर्वाधार विकास तिव्र गतिमा भईरहको छ ।’ अर्यालले जिल्लाको प्रशासनिक र राजनैतिक नेतृत्वको बेईमानीका कारण सबै मापदण्ड पुगेर पनि नगरपालिका प्रस्ताव नगरिएको आरोप लगाए ।
यसअघि निसीखोलालाई पनि समेटेर अहिलेको प्रस्तावमा परेका भिमगिठे र दर्लिङलाई नराखी नगरपालिका बनाउनु पर्ने अडान राख्दै आएको नेपाली काँग्रेस पनि प्रस्तावित ६ ओटा गाविसलाई नै नगरपालिका बनाउन सहमत देखिएको छ ।
बैठकमा नेपाली काँग्रेसका प्रतिनिधि बानबहादुर छन्त्यालले भने, ‘अहिले मापदण्ड पु¥याएर नगरपालिका बनाउने कुरा प्रमुख हो, कुन गाविस कता राख्दा कस्ले बाजी मार्छ भन्ने कुरा गौण हो ।’ छन्त्यालले प्रस्तावित गाविसलाई नै नगरपालिका बनाउनुपर्छ भन्नेमा आफु पुरै सहमत रहेको बताए । नेकपा एमालेका क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेलले गाविस समेट्ने कुरामा पछिल्लो प्रस्ताव उपयुक्त भएपनि सबै मापदण्ड पुग्दा पनि प्रस्तावमा नगरपालिका नपर्नु अपत्तिजनक रहेको बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डेले सबै मापदण्ड पुरा हुने भएकाले नगरपालिका नै बनाउनु पर्ने भन्दै माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । महिला अगुवा दुर्गादेवि घर्तीले नगरपालिका नै बनाउनुपर्ने माग पठाउँदा पनि जिल्लाले गाउँपालिका प्रस्ताव गरेकाले मान्ने नहुने बताइन् । बैठकमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य निलबहादुर पुन, नेकपा माओवादीका हरि कुँवर, उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका पदाधिकारी, नेपाली काँग्रेस राजकुतका सभापति तेजेन्द्र कुँवर, राजकुत एमालेका लालविर लोप्चन लगायतको उपस्थिती थियो ।