पुनर्संरचना विवाद
बागलुङ, २१ कात्तिक – राज्य पुन संरचनाको नयाँ आधार बनेपछि तोकिएको समय सिमामा जिल्लाका राजनीतिक नेतृत्वले कात्तिक २० गते सम्म ठोस निर्णय गर्न सकेनन् ।
गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले पुरानो संरचनामा परिवर्तन गरेर पुन ५ सय ७ देखि ७ सय ४४ वटा सम्म पालिका बनाउन सकिने निर्णय गरेपछि कात्तिक २० मा जिल्लाबाट निर्णय माग गरेको थियो । राजनीतिक सहमति अभावमा यो निर्णय अनुसार पुन संरचना अभियान अलमलमा परेको हो । बागलुङलाइ पहिला ८ वटा पालिका बनाउने गरी दिइएको सिलिङमा फेरी ११ सम्म बनाउन सकिने सिलिङ प्राप्त भएपछि राजनीतिक सहमति जुट्न नसकेको हो ।
अघिल्लो पटक १० वटा सम्म पालिका नभए सम्म विवाद र भूगोलको विभाजन साम्य पार्न नसकिने भन्दै आएका दलका नेतृत्वले ११ वटामा पनि सहमति बनाउन नसकेका हुन् । यस अघि रहेका इलाकालाइनै गाउँ पालिकाको रुप दिने गरी काँग्रेसले बहस थालेको थियो । यस अघि जिल्ला प्राविधिक समिति मार्फत काँग्रेसले आयोगलाइ ज्ञापनपत्र दिएर पुर्नविचार गर्न आग्रह गरेको थियो । ‘हामीले आग्रह गरेकै कारण आयोगले पुर्न विचार गर्न बाध्य भयो’ काँग्रेस सभापति दिपेन्दबहादुर थापाले भने, ‘तर प¥र्याप्त भएको छैन, तर पनि यो संख्यालाइ भने कति मिलाउन सकिनछ छलफल गरेर अगाडि बढ्छौं ।’ सबै भन्दा समस्या निर्वाचन क्षेत्र नं. ३ को पुनसंरचनामा देखिएको छ । काँग्रेसको क्षेत्रीय समितिले ४ पालिका बनाउनुपर्ने माग गरेको छ भने जिल्ला स्थित राजनीतिक दल र प्राविधिक समितिमा पनि यो बिषय टुंगो लाग्न नसकेको एक नेताले बताए ।
जिल्लामा ३ नगरपालिका सहितको संरचना गर्ने र संरक्षित इकाइ बारेमा समेत छलफल मोडिएपछि निर्णयमा ढीलाइ भएको एमाले अध्यक्ष श्रीप्रसाद शर्माले बताए । काँग्रेसले खुंखानी, तमान लगायतको विषेश संरक्षित क्षेत्र भनेको र माओवादीले तारा, हिल अर्गललाइ संरक्षित क्षेत्र खोजेपछि सहमतिमा पुग्न नसकिएको शर्माले दावी गरे । ‘माओवादी साथीहरुको माग पुरा गर्दा गलकोट नगरको जनसंख्या कम हुन्छ’ शर्माले भने, ‘काँग्रेसका साथीहरुको माग पुरा गर्दा बुर्तिवाङ नगरको जनसंख्या घट्छ ।’ दुइ नगरपालिकामा आसपासका सबै गाविस मिलाउन सकेमा अन्य अप्ठ्यारा भूगोल समेट्न सकिने उनले बताए ।
माओवादी केन्द्रका सेक्रेटरी राजिब घिमिरेले काँग्रेसको एजेण्डा र आफ्नो समेत जायज भएको दावी गरे । ‘माग आउनु स्वभाविक हो, तर्क र आवस्यकता देखाएर निर्णयमा पुग्नका लागि केही होमवर्क चाहिएर बैठक स्थगित भयो’ घिमिरेले भने, ‘हामी छिटै निर्णयमा पुग्छौं ।’ गलकोटबासीले भने ताखोला देखि सल्यान सुखौरा सम्मका सबै गाविस मिलाएर ऐतिहासिक गलकोट नगरपालिका बनाउनुपर्नेमा जोड दिएका छन् । छलफलमा आएका काँग्रेस जिल्ला सदस्य फमबहादुर खत्रीले ताराखोला, हिल, अर्गल, अमरभूमि, नरेठाँटी, दुदिलाभाटी, हटिया, हरिचौर, काँडेवास, मल्म, सल्यान, सुखौरा, पाण्डवखानी, रिघा सहितको १४ गाविसलाइ एउटै बनाउने प्रस्ताव राखेका थिए । गलकोट बासीको एकीकृत माग भएको उनले लिखित प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा काँग्रेसका खत्री सहित एमालेका बुलबहादुर केसी, माओवादीका तिलक उप्रेती, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठ र नयाँ शक्ति नेपालका बमबहादुर गुरुङको सहमति छ ।
यता नेकपा माओवादी केन्द्रका प्रमुख चन्द्रबहादुर बुढाले पछिल्लो मापदण्डले पनि जिल्लाको पुनसंरचनालाइ सम्बोधन गर्न नसकेको बताए । ‘हामीले १३ वटा पालिकाको धारणा बनाएका थियौं, तर तोकिएको मापदण्डमा पुग्दा धेरै समस्या आएको थियो’ बुढाले भने, ‘अवको ११ वटाको मापदण्डमा रहेर केही समस्या समाधान गर्ने तयारी गछौं ।’ जिल्लाको भूगोल, सामाजिक आर्थिक परिवेशलाइ ध्यानमा राख्दा जनसंख्याको सिलिङ नमिलेको उनको टिप्पणी छ । तर पनि जनताको माग, सबै दलको भावना र प्राविधिक समितिको सल्लाहबाट काम गर्ने योजना बनाएको उनले बताए ।