म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट कलेज तथा आवासीय माविले मङ्गलबार २७औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य विनोद केसीले विद्यालयले जिल्लाको शैक्षिक तथा खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेलेको बताए । उनले शिक्षासँगै खेलकुद गतिविधिमा समेत विद्यालयको लगानीबाट उत्साहित भएको बताउँदै विद्यार्थीलाई व्यवहारिक ज्ञानको आवश्यकता रहेको बताएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले विद्यालयले शैक्षिक क्षेत्रमा गरेका कार्यहरु अनुसरणयोग्य भएको बताएका थिए । कार्यक्रमको अवसरमा विद्यालयले प्रकाशन गरेको सम्बोधित्व बिमोचन गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । सोही अवसरमा विद्यालयको गतिविधिमा सक्रियता देखाउने मन्टेश्वरीदेखि स्नातक तहसम्मका अभिभावकलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा बालबालिकादेखि अभिभावकसम्मले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशन म्याग्दी प्रालिका अध्यक्ष सुर्दशनकुमार श्रेष्ठको अध्यक्षता, भाइस प्रिन्सिपलद्वय कृष्ण जिसीको सञ्चालन र सरोज लकान्द्रीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल डिबी दाहालले विद्यालयको गतिविधिको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रालिका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, संस्थापक तथा निर्देशकहरु सुवासकुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठका साथै विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो । उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।