नेपालमा पुस माघको जाडो भनेपछि मानिसहरु सचेत हुने गर्दछन् । मंसिरदेखि माघ महिनासम्म अलि बढी नै चिसो हुने हुनाले यो समयमा सचेत हुनका लागि जो कसैले पनि प्रयास गर्नु स्वभाविक हो । चिसोको समयमा बालबच्चा तथा ज्येष्ठनागरिकका लागि बढी समस्या हुने गर्दछ । रोग प्रतिरोधी क्षमता बच्चा र वृद्धाहरुमा कम हुने भएकाले चिसोले अझै बढी रोगको संक्रमण हुन सक्छ । त्यसैले यो समयमा हुने जोखिमबाट सचेत हुनका लागि सबै तयार हुनैपर्छ । हामीले चिसो याममा बच्चालाई राम्रोसँग ध्यान दिन सकेनौं भने विभिन्न खाले रोग तथा समस्या देखा पर्दछन् । यही कारणले गर्दा हामीहरु प्रत्येक पाइलामा सचेत हुन जरुरी छ ।
चिसोको समयमा हामीले बच्चालाई बचाउन कोठालाई न्यानो बनाइराख्नु आवश्यक छ । बच्चालाई न्यानो बनाउँदा विभिन्न कुरामा सचेत हुनु पनि पक्कै जरुरी हुन्छ । एकदमै बाक्लो कपडा लगाउँदा अप्ठ्यारो हुन सक्छ, त्यसैले समयानुकूल कपडा लगाई दिनुपर्छ । कोठा न्यानो बनाउँदा भेन्टिलेसनमा पनि ध्यान दिन आवश्यक छ । कोठा न्यानो बनाउन हिटर, कोईला, ब्रिकेट बाल्ने चलन छ । भेन्टीलेसन राम्रो छैन भने त्यसले कार्बोन मोनोअक्साइड बढ्न सक्छ र अक्सिजन नै लिन नसक्ने बनाइदिन्छ, जसले गर्दा बच्चाको ज्यानै जाने खतरा हुन्छ । त्यसैले राम्रो भेन्टीलेसन भएको कोठामा मात्र हिटर, कोईला र ब्रिकेटको प्रयोग गर्नुपर्छ । बच्चालाई सकभर घाम छिर्ने कोठामा राख्नुपर्छ । बच्चाको शरिर सबै छोपिने गरी कपडाका साथै हातमा पञ्जा र कानमा टोपी लगाउनु आवश्यक हुन्छ । धेरै कपडा लगाउँदा बच्चाको शरिर भित्रबाट पसिना पनि आइरहेको हुन सक्छ । हिटर बालेर अथवा कपडा लगाइदिएर मात्रै पनि हुँदैन, समय–समयमा बच्चाको ख्याल गर्नुपर्छ । सानो बच्चा छ भने नियमित स्तनपान गराइराख्नुपर्छ ।
कोठामा हावा टाइट हुन्छ । झ्याल, ढोका बन्द हुन्छ, हावा छिर्ने ठाउँ हुँदैन । कोइला, ब्रिकेट बाल्दा कार्बन मोनोअक्साइड उत्पादन हुन्छ । त्यसले हेमोग्लोबिनमा असर गरेर अक्सिजन लिन सक्दैन र ज्यानै जानेसम्मको खतरा हुन्छ । चिसोका कारणले निमोनिया हुन्छ भन्ने हाम्रो बुझाई छ । चिसोका कारणले निमोनिया हुने भन्ने होइन । निमोनिया भाइरस, ब्याक्टेरिया तथा किटाणुको कारणले हुने गर्छ । रोगसँग लड्न सक्ने क्षमता कम भएकालाई बढी समस्या देखिन्छ । चिसो मौसममा भाइरल अथवा किटाणु बढी सक्रिय हुने भएकाले निमोनिया हुन्छ । निमोनियाले ५ वर्ष मूनिका बालबालिका बढी जोखिममा हुन्छन् । तर, निमोनिया जसलाई पनि हुन सक्छ । भाइरसबाट हुने निमोनिया सपोर्टिभ केयरले पनि निको हुन सक्छ भने ब्याक्टेरियाबाट भएको निमोनियामा कडा ज्वरो आउने, स्याँ–स्याँ हुनेहुँदा औषधी नै खानुपर्ने हुन्छ । चिसोले बच्चालाई मात्र नभई सबै उमेर समूहका मानिसलाई असर गर्छ । त्यसैले चिसोबाट बच्ने उपाय अपनाउनु आवश्यक देखिन्छ ।
Previous Articleटेलिकमको ‘फाइबर टु दि होम’ सेवा
Next Article वेष्ट प्वाइन्टले मनायो २७औं वार्षिकोत्सव