बागलुङ, २१ कात्तिक – उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकारी उद्योगलाइ पुर्नजिवित गरेर अति आवस्यक बस्तुको उपभोग स्वदेशमै गर्न सकिने बनाउने बताएका छन् । नेपाल वनपैदावार फर्निचर उद्योग व्यवसायी संघ बागलुङको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै जोशीले सबै युृवालाइ उद्यमी बनाउने र देशलाइ समृद्ध बनाउने अभियान थाल्ने पनि बताए ।
उनले उद्योगको विकास गरेर विदेश जान नपर्ने अवस्था ल्याउन १० बर्षे नीति बनाएर अगाडि बढ्ने सरकारी योजना रहेको समेत बताए । हाल बन्द अवस्थामा रहेका हेटौडा कपडा उद्योग, औषधि व्यवस्था विभाग समेतलाइ पुर्नजिवित गर्ने समेत उनले बताए । ‘कम्तिमा सेना, प्रहरी, सशष्त्र प्रहरी, सरकारी कर्मचारी र विद्यार्थीको पोशाक सरकारले उत्पादन गर्ने गरी उद्योग पुर्नजिवित गर्ने तयारी छ’ उनले भने, ‘सिटामोल र जीवनजल सरकारले उत्पादन गर्नुपर्छ भन्ने मान्यता राखेको छु ।’
हरेक दलका राजनीतिक कार्यकर्ता उद्योगी बन्न पनि उनले सुझाए । यो अभियान स्वरुप सरकारले औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको उनले जानकारी दिए । ठूला प्रकारका उद्योग स्थापनाका लागि दर्जन मन्त्रालय र विभाग धाउनुपर्ने बाध्यता हटाएर उद्योग मन्त्रालयबाटै सबै काम हुने व्यवस्था समेत थाल्ने उनलको योजना सुनाए ।
संघका अध्यक्ष डम्बरबहादुर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, जिल्ला वन अधिकृत बिन्दु मिश्र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाले बोलेका थिए । त्यस अघि बागलुङ कालिका मन्दिरमा पूजा गरेका मन्त्री जोशीले नेपाली काँग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ताको भेटघाट गरेका थिए ।