तीते करेली
कृष्णराज शर्मा
हाम्रो समाजमा अनेकानेक संस्कृतिले घर गरेका छन् । ति घर मध्ये एउटा घरको ढोका तिहारका बेला खुल्छ । त्यही खुलेको घरको संस्कृतिबाट आकर्षित भै सबै त्यतैतिर तानिन्छन् । के हो त त्यो घरको आकर्षण ? जसले, सबैको ध्यान खिंचेको छ । अर्थात त्यो घरको आकर्षण हो जूवा तास खेल्नु खेलाउनु । यस बाहेक घर मालिकले हरूवा जूवाडेलाई ऋण लगानी गर्नु र गड्धनमा आँखा गाडेर सोझा सादा गाउँलेलाई लगना हालिदिएर जुवा खेल्न प्रोत्साहन गर्नु पनि त्यो घरको थप आकर्षण हो । अझ यसरी भन्दा पनि हुन्छ,यो हाम्रो तिहार संस्कृतिको उप–संस्कृति हो ।
यो उप–संस्कृतिका हकदार गाउँका ठूला ठालु नै हुन् । यस्तो मनमोजी गर्ने निम्छरा र निमुखाहरूको सामथ्र्य भन्दा परको कुरा हो । तर निमुखाहरूलाई पनि सामर्थ्यवान बनाई दिन्थे ठालुहरूले । यि ठालुहरू जुवासँग अरूची हुनेहरूलाई उक्साई–उक्साई जुवाको खालमा होमिन बाध्य पार्थे । सापटी दिएर भएपनि दुईचार मुरी गैह्रीखेतमा आँखा गाडेर लगानी गर्थे । जुवा खेल्न उकास्थे । र जूवा हार्न पनि बाध्य हुन्थे । दिएको सापटी धन उपर गर्ने उपाए भनेको अस्सली गैह्री खेत हो । ठालुहरूले कपाली तमसुकमा निम्छराका औंठाका ल्याप्चे ठोकिन्थे । अनेक ढङ्गले त्यो गैह्रीखेत हात पारी छोड्थ्यो त्यो ठालूले । अहिले भन्दा केही दशक पहिले जुवातास ठालुहरूको ठूलै प्रतिष्ठासंग जोडेर मापन गरिन्थ्यो । उनीहरूको चित्त पनि बहलाउने अनि गतिला गतिला खेतका फाँट हात पनि हातपर्ने । यस्ता सत्यकथा पाकाहरूको मुखबाट तिहारका बेला सुन्नमा आउँछन् । यस्तै ठालुको रूपमा मैले भारत र नेपालको सम्बन्धको बारेमा तुलना गर्न ठीक ठान्छु । त्यही हैसियतमा हाम्रा दुई देश वीचका “सुमधुर’’ संबन्ध कायम छन् । इतिहासका हरेक कालखण्डमा यही तिहारको उप संस्कृतिले हामी र हाम्रो देश प्रताडित छ । हाम्रा प्राकृतिक श्रोत र साधनहरू उसको गैह्रीखेत हो । निमुखा निम्छरा दलालहरू कपाली तमसुक लेखेर सहयोग र अनुदान पाएकोमा मख्ख पर्छन् ।
दुई चार थान एम्बुलेन्स हात पार्ने । गाउँगाउँमा भूपूको नाममा पानी टंकी बनाउने । दलाल नेताका सन्तानलाई छात्रबृत्तिमा भुलाउने । माओवादीमा लागेका ठिनामिना लोकल नेतालाई लैनचौरमा बोलाएर जुलेबी खुवाएर जिन्दगिभर ततक्षेत्रको सुराकीको पद जिम्मा लगाउने । यति गरेपछि देश र जनताका नाममा कसम खानेहरू माछीजालमा पर्ने गरेको संक्रमणकालिन नेपाल जानकार छ । नेपाली युवाहरूको जवानी उसैले चुसेर पेन्सन पाएको पनि सहयोग ठान्छन् । जिल्ला जिल्लामा साँसदका सम्पर्क कार्यालय र नेपाल–भारत मैत्री सँघका कार्यालय यौटै घर कोठामा छन् । जिम्मेवार राजनैतिक दलका जिम्मेवार व्यक्तिहरू यही सँघका पदाधिकारी वा सदस्य रहेका छन् । उसैका दलाल नेताहरू आज चूपचाप उसैको हजूरीया गर्छन् । यसो भएको हुनाले भारत सरकार र हामी जस्ता नेपालीका जनमनमा भारतप्रति कहिल्यै हार्दिकता पलाउनै सकेन । झन् पोहोर नाकावन्दी गरेर दिएको दुःख त अबको पचास बर्ष सम्म नेपालीले भुल्ने छैनन् । त्यसैले भारत प्रतिको मेरो हेराई ठालुको बृत्तिभन्दा अरू लाग्दैन । मेरो मनले सुमधुर सम्बन्ध राख्न खोजेर पनि उसको खान्दानले कहिल्यै म प्रति समान व्यवहार देखाउनै चाहेन । यही असमान व्यवहारले गर्दा भारतलाई हेर्ने मेरो आँखा टेढो हुने गरेको हो ।
हाम्रा पूर्खाले निर्माण गरेका वीरगाथा इतिहासका पानामा मात्रै सिमीत रहे । एक ताका खुब घन्के वीरताका आवाजहरू । सुरूङ खनेर महाकाली मुनीबाट देहरादून पस्छन् कि भन्ने थियो । के को हुन्थ्यो, कपटी वीरताको बखान गरिएको रहेछ । बुद्धु नेपालीलाई वीर बनाईएको रहेछ । त्यस्ताका कुराका पछि लागेर वीरगति नभै बुद्धुगति प्राप्त गरे । नेपाल आमाका होनहार सन्तानहरूले मुफतमा पानी सरी रगत बगाए । यही प्रसँगमा कवि भूपी शेरचनको कविता याद हुन्छ । कवि हृदय कोमल हुन्छ,तर भूपीले कोमल हृदयलाई कठोर बनाएर लेख्न बाध्य भएर यसो लेखेकी भन्ने लाग्छ मलाई ।
हामी नेपाली वीर छौं ।
वीर छौं र त बुद्धु छौं ।
बुद्धु छौं र त वीर छौं ।
… …. ……. ……
हामीले वीरता पनि प्रदर्शन गर्छौं र एक क्षणमै कायरमा परिणत पनि हुन्छौं। यिनै कायर राहुहरूले देशमा घर गरेका छन् अहिले । स्वनिर्णयका धनी हुँदा नेपाली जहिल्यै वीर बन्यौं । परचक्रिको निर्णयको धनीहुँदा वुद्धु वीर बन्यौं । हिंजोका वीरताका बोली राहुहरूले पोलेर खाए । र गैह्रीखेतमा आँखा गाड्ने साहुहरू संग लम्पसार बनेर आफ्नो कायरता र ’त्वं शरणम् वाद’ देखाएरै छोडे । जति लात मारेपनि राजषी मेजमानीमा घरमा बोलाएर राख्छौं । घर का भेदी देश का चोर ! घरको भेद खोलेर जन्मभूमी प्रति गद्दारी गर्दैछौं । घरको भेद छेदन गरि भित्रिएको त्वं शरणवादले नेपाल र नेपालीको स्वाभिमानको शीर संधैलाई निहुरिन पुगेको पनि यिनै राहुहरूका कारण हो । यो राहु को हो ? भन्नुहोला ! राहूको बक्र स्वभाव हुन्छ । बाङ्गो मात्रै हिंड्छ । यसले कहिल्यै शुभ हुन दिंदैन । अशुभ अशुभ मात्रै सोच्छ । यही राहुको उत्पत्तिकाल देखि देशलाई अशुभ बाहेक शुभ कहिल्यै भएन । जब जब देशमा राहु हावि हुन्छ देशको शुभ हुँदैन । देशमा अनिष्ठ खनिन्छ । यही राहुकँहा गैह्रीखेत खाने साहु पाहुना बनेर आयो । साहुलाई मौसमले पनि साथ दियो । लुकाएर राख्नु पर्ने सप्पै देख्यो । नदीनालामा गैह्रीखेत देख्ने साहुले यसपाली त हाम्रा टलक्क टल्केका चाँदी जस्ता हिमालै भरी गैह्रीखेत देख्यो । राहुको ग्रहले साहुलाई सत्र पर्यो । जताततै साहुले आँखा गाड्यो । भोली कुन नेपाली कागजमा के भनेर तमसुक लेखाउने हो त्यही बेला थाहा लाग्ला ।
हामी नेपालीहरूले घर आउने पाहुनालाई अतिथी देवो भवः भन्दै मान्ने संस्कारलाई भुल्न सक्दैनौं । साँझमा शत्रु नै घरमा आयो भने पनि उसलाई ससम्मान घरमा राख्छौं । हाम्रा यस्ता थुप्रै धर्म सँस्कारहरूबाट निर्देशित हुन पनि हामी सक्छौं । परम्परा र सँस्कारलाई लत्याएर अन्धानुशरण गर्दैनौं । संस्कारलाई अलिकति ध्यान दिएकैले युद्धकालमा सत्र हजार वरिपरी मात्रै नेपाली मारिए । संसारका थुप्रै देशहरूमा दशबर्षे युद्धाबधिमा लाखौं मान्छे मरेका छन् । त्यस्तो डरलाग्दो परिणाम नेपालमा नआउनु हाम्रा संस्कारहरूलाई पछ्याएकाले नै न्यून अँकमा हामी सकियौं । भन्न खोजेको कुरा के हो भने हाम्रा परम्परागत मूल्य र मान्यतालाई हामीले आत्मसात् गर्न जानेका छौं । गर्यौं । त्यही भयो भारतीय साहु नेपाल आउँदा ।
यसो गर्दा गर्दागर्दै पनि राहुले आफ्नो पहिचान झल्काउन सकेन । आफ्ना शाखा सन्तान दौरा सुरूवाल कहिले लगाउन पाइएला भनेर छटपटाएका छन् । तर, राहुले नखरा मात्रै पार्छ । जतिसुकै ठूला र भव्य समारोहमा पनि राष्ट्रको पहिचान झल्कने हाम्रो पोशाक राहुको हरमा परेन । यही दुःख लाग्छ ! देशको कार्यकारी प्रमुखले यौटा राष्ट्रिय पोशाकलाई आत्मसम्मान पूर्वक लगाउन्न भने विदेशीले स्वतः अनुमान गर्छ कि त्यो देशमा राष्ट्रिय एकताको अभाव छ । प्रधानमन्त्रीले राष्ट्रिय पोशाक नलगाउने तर उसैको सैन्य कमाण्डर उपराष्ट्रपतिले त्यही दौरा सुरूवालमा गौरवान्वित हुने । यो नौटंकी के हो कसैलाई थाहा भएन । समारोहहरूमा कुन देशको पहिरनमा हाम्रा प्रधानमन्त्री देखिन्छन् भनेर धेरैको मनमा अड्केको प्रश्न हो यो । सामन्तका नाईकेले लगाएको पोशाक भनेर खुब घृणा फैलाईयो राष्ट्रिय पोशाक माथी । आज त्यही पोशाक लुकि लुकि कोठा भित्र लगाएर फेसबुकमा हाल्ने चलन सर्वहाराहरूमा देखापरेको छ । कमसेकम दशैंमा लबेदा शुरूवाल लगाएर मान्यजनका घरमा पुग्दासम्म लगाएर धीत मार्छन् शिष्यगणहरू ! तर देशको प्रधानमन्त्रीले विदेशीराष्ट्रको राष्ट्रप्रमुख आउँदा त राष्ट्रिय पहिचानमा देखिनु पर्थ्यो । ल भैगो, राष्ट्रप्रमुख नमानेर मालिक नै मानेर भएपनि म नेपालको प्रधानमन्त्री । हजूरको कृपाले नै म यो देशको प्रधानमन्त्री भएँ भनेर त्यो देशको पहिचान त दिनु पर्थ्यो । त्यसो पनि गरिएन । एकातिर राहु अर्काेतिर साहू मिलेपछि जे गरेपनि सातखत् माफ हुनेभयो । नेपाली जनता ट्वाँ परेर हेर्नु बाहेक विकल्पै देख्दैनन् । कुन साहु कुरेका छन फेरी यि नेपालीहरूले । तै, ट्वाँ परेर हेर्दाहेर्दै पनि दुईचार वटा कालाझण्डा बेलुनमा पठाएर भएपनि निलो आकाशलाई शोभायमान बनाए । देश र जनताको मनमा कालो बादलले ढाक्दा ढाक्दै पनि राहुको घरमा साहू छिर्यो । दुई रात बास बसेर गयो !