म्याग्दीको सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थामा एकैपटक पाँचवटा सहकारीले भ्रमण गरेका छन् । महिलाको लगानी र व्यवस्थापनमा सञ्चालित सहकारीमा जिल्लाको धवलागिरी गाउँपालिका भित्रका पाँचवटा सहकारीले भ्रमण गरेका हुन् ।
गाउँपालिकाभित्र सञ्चालित सहकारीलाई व्यवस्थित तथा नयाँ अनुभवको साटासाट गर्ने, कर्जा तथा निक्षेप प्रवाह लगायतका बारेमा जानकारी लिन हिमाली कृषि सहकारी गूर्जा, नमुना महिला उद्यमसील सहकारी लुलाङ, मुनाल कृषि सहकारी मुना, धौलागिरी कृषि सहकारी बगरा र नमुना धौलागिरी महिला बचत तथा ऋण सहकारी संस्था मुदीका सञ्चालक समिति सदस्य, शेयर सदस्य र कर्मचारीहरुले भ्रमण गरेका हुन् ।
संगम म्याग्दीमार्फत सञ्चालित सामुदायिक विकास परियोजनाको आयआर्जन कार्यक्रममार्फत सहकारी प्रवद्र्धनमार्फत भ्रमणमा रहेका सहकारीका प्रतिनिधिहरुले दिदीबहिनी सहकारीमार्फत गरिएका राम्रा प्रयासलाई आफ्नो सहकारीमा अनुसरण गर्ने प्रतिबद्धता जनाएका थिए । सहकारी भ्रमणको क्रममा सहकारीका सल्लाहकार एवं बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले महिलाको उद्यमसिलता र साना लगानीमार्फत आत्मनिर्भर बनाउन सहकारीको महत्वपूर्ण भूमिका हुने बताइन् ।
सोही अवसरमा धवलागिरी गाउँपालिका–१, गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले सहकारी व्यवस्थापनमा केन्द्रित भएर भ्रमण आयोजना गरिएको बताए । कार्यक्रममा संगम म्याग्दीका उद्यम विकास अधिकृत धनमाया किसानले सहजीकरण गरेकी थिइन् भने दिदीबहिनी सहकारीका उपाध्यक्ष विष्णु गौतमले अध्यक्षता गरेकी थिइन् ।
Previous Articleबालाचतुर्दशी पर्वमा पाँचलाख बढी भेटी सङ्कलन
Next Article खेल पर्यटनको भविष्य