नेपालले आगामी वर्षलाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै गरेको वर्तमान अवस्थामा कसरी धेरै भन्दा धेरै पर्यटकहरु भिœयाउने भन्नेतर्फ ध्यान केन्द्रीत गर्नु स्वभाविक नै हो । यही सन्दर्भमा आइतबार औपचारिक उद्घाटन हुने दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग)ले पनि पर्यटक नेपाल भिœयाउनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ । नेपाल खेल पर्यटनका लागि पनि महत्वपूर्ण र उर्वर भूमिको रुपमा लिन सकिन्छ । दक्षिण एसियन खेलकुद सागमा अहिले नेपालमा खेल्नका लागि करिब तीन हजार खेलाडी तथा खेल पदाधिकारी, अफिसियलहरु गर्दा झण्डै १० हजार खेलसँग सम्बन्धित मात्रै आउँदै छन् भने शुभचिन्तक तथा अन्य दर्शकहरुको सङ्ख्या हेर्ने हो भने सार्क मुलुकहरुबाट ५० हजार भन्दाबढी पर्यटकहरु भित्रिन सक्ने अनुमान गर्न सकिन्छ ।
खेलकुद यस्तो समाधान हो जसले सबैलाई एकै विन्दुमा ल्याएर मिल्न अनि खुशी हुन सिकाउने गरेको छ । दोस्रो विश्वयुद्धको समयमा फुटबल हेर्नका लागि युद्ध स्थगित गरिएको भन्ने पनि हामीले सुनेकै हो । नेपालमा भएका खेल मैदानमा हामीले ठूला प्रतियोगिताहरु पनि आयोजना गर्न सक्छौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हामीले भारत र पाकिस्तानको खेल आयोजना गर्न सक्ने सम्भावना छ । किनभने भारतले पाकिस्तानमा गएर नखेलेको ११ वर्ष बितिसक्यो । सन २००८ मा मुम्बईमा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा गएर कुनै पनि खेल खेलेको छैन । त्यसैले उनीहरु दुई टिमलाई नेपाली भूमिमा बोलाएर खेलको आयोजना गर्न सकेको खण्डमा ठूलै उपलब्धि हात पार्न सकिनेछ । त्यसले भारत तथा पाकिस्तानका दर्शकहरु पनि भरपुर रुपमा उतार्न सक्नेछ । नेपाल क्रिकेटमा एक दिवसीय मान्यता पाएको कारणले गर्दा पनि एक दिवसीय राष्ट्रलाई क्रिकेटको निम्तो दिएर उतार्न सकेमा पनि खेल पर्यटकहरु नेपाल भित्रने कुरामा कुनै शंका छैन ।
नेपालमा खेल क्षेत्रमा लगानी बढाउँदै पूर्वाधार विकास गर्ने हो भने तटस्थ भूमिमा खेल्ने देशहरुलाई नेपालमा उतार्न सकिन्छ । हाइअल्टिच्युट ट्रेनिङका लागि नेपाली भूमि निकै उर्वर मान्न सकिन्छ । नेपालमा ४ हजार मिटरभन्दा उचाइमा समेत खेलमैदान तयार गर्न सक्ने प्रकृति रहेको हुनाले त्यसलाई व्यवस्थित गर्न सकेको खण्डमा हाम्रो देशमा खेल पर्यटकलाई आकर्षित गर्न सकिनेछ । अहिले भैरहेको पूर्वाधारलाई मर्मतसम्भार गर्न मात्र सकेको खण्डमा पनि निकै राम्रो खेलमैदान तयार हुने अवस्था रहेको हुनाले हामीले त्यसका लागि प्रयास गर्नु उचित हुन्छ । विश्वका कयौं मुलुकको कुल ग्रार्हस्थ उत्पादन खेलकुदले नै धानेको छ । दक्षिण अमेरिकी मुलुकहरुमा राज्यको कुल ग्रार्हस्थ उत्पादनमा खेलकुदको राम्रै हिस्सा रहेको छ । त्यसैले नेपालमा पनि खेल क्षेत्रमा लगानी गर्ने र खेल पूर्वाधार निर्माणमा ध्यान दिन सकेमा यसको भविष्य सफल देखिन्छ ।
Previous Articleधवलागिरीका पाँचवटा सहकारीद्वारा दिदीबहिनीको भ्रमण
Next Article प्रधानमन्त्री ओली खतरामुक्त