गलेश्वरधाम मन्दिरमा यसवर्ष परेको बालाचर्तुदशी पर्वमा पाँचलाख भन्दाबढी भेटी सङ्कलन भएको छ । बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित मन्दिरमा सोमबार आफ्नो परिवार भित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित सतबीज छर्न र दर्शनका लागि आएका भक्तजनहरुले भेटी चढाएका हुन् ।
यस वर्षको बालाचतुर्दशी पर्वमा मात्रै कुल पाँचलाख २६ हजार एकसय २३ रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । सोमबार बालाचतुर्दशी मेलामा भक्तजनले मन्दिरभित्र विभिन्न स्थानमा चढाएको भेटी सङ्कलन गरी मङ्गलबार बिहानैदेखि कोषका पदाधिकारी, प्रहरीलगायत स्थानीयको उपस्थितिमा गणनासहित सार्वजनिक गरिएको थियो ।
मन्दिरमा दर्शन गर्न म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, चितवन, नवरपरासी, कपिलवस्तुसहित विभिन्न जिल्लाबाट भक्तजनहरु आएका थिए । गलेश्वर मन्दिरमा साउने सोमबार, शिवरात्रीमा समेत दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । शिवरात्री र साउने सोमबारमा दर्शन गर्न आउने भक्तजनहरु भन्दा धेरै बालाचर्तुदशीमा आउने गरेको कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।
पुजाआजा गर्ने ठाउँमा चढाइएको भेटीलाई सङ्कलनका साथै मुचुल्का गरी प्रहरीकोमा र चाबी कोषले राख्ने गर्दछ । कोषले मन्दिरका पुजारीलाई तलवसहित खाने, बस्ने व्यवस्था गरेपछि भेटी ह्वात्तै बढेको छ । कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरे मात्रै पनि मनोकामना पुरा हुने जनविश्वास छ । प्रसिद्ध मुक्तिनाथ मन्दिर जाने प्रवेशद्वार रहेको हुँदा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।
Previous Articleमहिलाको विजयी सुरुआत
Next Article धवलागिरीका पाँचवटा सहकारीद्वारा दिदीबहिनीको भ्रमण