पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, बिलबाङ रुमकी ४१ वर्षीया ईन्द्रकुमारी पुनलाई उनकै छिमेकी २८ वर्षीय रमेश पुनले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकी छिन् । बुधबार बिहान पौने १० बजे धारिलो हतियार (खुकुरी) प्रहार गर्दा उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानाध्यापक समेत रहेकी पुनलाई बिहान विद्यालय जाँदै गरेको समयमा एक्कासी आक्रमण गरेको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताइन् । हतियार प्रहारबाट पुनको टाउको, घाँटी तथा हातमा गम्भीर चोट लागेको उनले जानकारी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) ध्रुवप्रसाद शर्माका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको जानकारी दिए । उनले मालिका गाउँपालिकाको समन्वयमा हेलिकप्टरमार्फत गम्भीर घाइते पुनलाई पोखरा पु¥याएर उपचार भैरहेको बताएका छन् ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षिकाको उपचारमा विशेष ध्यान दिनका लागि मणिपाल शिक्षण अस्पतालमै पुगेर डाक्टरहरुलाई निर्देशन दिनुका साथै स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको समेत बताइएको छ । यसैबीच हतियार प्रहार गरी गम्भीर घाइते बनाउने पुनलाई इलाका प्रहरी कार्यालय दरबाङको टोलीले निस्कोट र रुमको बीचमा पर्ने जङ्गलबाट प्रक्राउ गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी निरीक्षक शर्माले बताए ।