हिमालपारीको जिल्ला मुस्ताङ र छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने कोरला नाकाको चीनतर्फ भौतिक संरचनाले तीव्रता पाएको छ । कोरला नाकाको पारीपट्टी चीनले धमाधम संरचना बनाइरहँदा नाकाको नेपालतर्फको भुमिमा भने सुनसान जस्तै छ ।
मुस्ताङ र चीनस्थित तिब्बतको कोरला नाका खुलाउन बेला बेलामा चर्चा चलेपनि अहिलेसम्म नाका खोल्नका लागि ठोस पहल हुन सकेको छैन । छिमेकी मुलुक चीनले आफ्नो सीमा क्षेत्रमा धमाधम करोडौंका भौतिक संरचनाहरु बनाइरहँदा नेपालतर्फ भौतिक संरचना निर्माणको कुनै काम हुन सकिरहेको छैन । दुई देशबीच नाका खोल्ने बहस भैरहँदा नेपालतर्फको भूगोलमा आवश्यक संरचना बनेका छैनन् ।
हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमबाट एक दिनको यात्रामा सजिलै कोरला नाका पुग्न सकिन्छ । कोरला नाकाको नेपालतर्फ २०२९ सालमा गाडिएको २४ नम्बर पिल्लर मात्रै छ । त्यसको सामुन्ने ताला ठोकिएको एउटा ठूलो गेट बनाइएको छ । गेटबाट नजिकै देखिन्छ, तारबारले घेरिएको ठूलो मैदानमा भव्य संरचनाहरु बनिरहेका छन् । चीनको सिमानातर्फ भौतिक संरचनाहरु धमाधम बनिरहँदा नेपालतर्फ त्यसको कुनै प्रक्रिया अगाडि बढेको छैन ।
चीनले आफ्नो क्षेत्रमा धमाधम भौतिक संरचनाहरु बनाइरहँदा नेपालतर्फ भने सडकको पहुँच मात्रै पुगेको छ । २४ नम्बर पिल्लरदेखि पारी चीनतर्फ एकीकृत भन्सार कार्यालयको संरचनाका साथै सुरक्षाका लागि आवश्यक भवनहरु निर्माण भैरहेका छन् । सडक स्तरोन्नतिको काम पनि जारीरहेको छ । २०७४ सालदेखि नै चीनतर्फ भन्सार कार्यालय, सडक, बिजुली, खानेपानी लगायतका पूर्वाधारहरुको काम भए पनि नेपालतर्फ भने कुनै संरचना नबनेको हो ।
चीनले ठाउँठाउँमा सिसी क्यामेरा जडान गरेर नाकामा निगरानी बढाइरहेको छ । तर, नेपालतर्फ त्यस्तो कुनै पनि संरचना निर्माण भएको छैन । कोरला नाकादेखि १२ किलोमिटर तल छोसेरमा नेपाल प्रहरीको सीमा प्रहरीचौकी र भन्सार कार्यालय रहेको छ । त्यहीँको प्रहरीले नै कोरला नाका हेर्ने जिम्मेवारी पाएको छ । तर, नाकासम्म निगरानी बढाउनका लागि न त्यहाँ कुनै प्रहरीको जनशक्ति छ नत कुनै संरचना स्थापना गरिएको छ ।
हालै भएको चीनका राष्ट्रपति सि जीनपिङको नेपाल भ्रमणले सीमा नाकाहरु खुल्ने आशा भने पलाएको छ । नेपालसँग सीमा जोडिएको मुस्ताङ–तिब्बत कोरला नाका खुलाउनका लागि आफूले सरकारसँग पहल गरिरहेको मुस्ताङबाट निर्वाचित सांसद प्रेमप्रसाद तुलाचनले बताए । कोरला नाकाको नेपालतर्फको भुमिमा गेट निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।
मुस्ताङ–तिब्बत व्यापार मेला चलिरहेको समयमा समेत नेपालीहरु सिमानाको गेट पास गरेर भित्र जान पाउँदैनन् । लोमान्थाङ गाउँपालिकाका केही वडाका स्थानीयलाई मात्र प्रवेश दिने गरिएको छ । पर्यटकहरु पनि नाकाको सिमानामा धेरै समय रोकिन चाहेमा चाईनीज सुरक्षाकर्मीहरुले हस्तक्षेप गर्ने गरेका छन् । नाका खोल्न तथा यस खालका गतिविधिलाई नियन्त्रणमा लिन सम्बन्धित निकायले पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।
Previous Articleधारिलो हतियार प्रहारबाट महिला गम्भीर
Next Article रुप्से दैनिक ! २८ कार्तिक २०७६