विश्वमा मधुमेहका रोगीहरुको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । अहिले विश्वमा झण्डै ४२ करोडभन्दा धेरै वयस्कहरु मधुमेह रोगसँग लडिरहेका छन्भने यही तथ्यांक सन् १९८० मा १० करोड हाराहारीमा मात्र थियो । यो तथ्य सन् २०१४ मा विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानबाट आएको हो । यो दर निकै तीव्र गतिमा बढेको भन्न त मिल्दैन तैपनि यो समस्या भने निकै नै ठूलो हो भन्दा फरक पर्दैन । हाम्रो देशमा चिनीरोग भनेर चिनिने भएता पनि यसलाई मधुमेह वा डाईबिटिज पनि भन्ने गरिन्छ । यो रोगको समस्या धेरथोर सबैमा हुने गरेको पाइए पनि यसको मात्रा बढ्दै गएको खण्डमा निकै समस्या हुने गर्दछ । पछिल्लो समय यही रोगका कारणले गर्दा नेपाली समाजको भान्सा पनि फेरिँदै जान थालेको छ । आलु पाक्न छाडेको छ भने भात नपकाई मकैको आटो र गहुँको रोटीले नेपाली भान्सामा मजबुत हुँदै गएको देखिन्छ ।
पछिल्लो समय मधुमेहको समस्या बढेसँगै बिहानै उठेर योग साधना र मर्निङ–वाक गर्ने जमात बढ्दो छ किनकी सबैलाई मधुमेह (सुगर)बाट जोगिनु छ, स्वस्थ्य रहनुछ, अनि आफ्नो तौल थोरै कायम गर्ने चुनौती पनि छ । मधुमेह बढ्दै गएको खण्डमा इन्सुलीन दिनुपर्ने र औषधी वा सिरिन्जबाट इन्सुलिन दिनुपर्ने अवस्था सिर्जना हुने भएकाले पनि यसबाट जोगिनका लागि मानिसहरुले अलिकति बढी शारिरीक व्यायममा ध्यान दिन थालेका छन् । नेपालमा मात्र नभएर विश्वमै मधुमेहको समस्या बढ्दो छ । मानव जाति प्रकृतिको समिपमा रहेको खण्डमा मात्रै उ बढी मात्रामा स्वस्थ हुने हो । जति प्रविधिको विकास र प्रयोग बढ्दै गएको छ त्यति नै विभिन्न रोगहरुको भण्डार पनि थुप्रिँदै गएको छ । आज दिनमा हेर्ने हो भने विश्वमा प्रत्येक १० मध्ये १ महिला मधुमेहको शिकार हुने गर्दछन् भनें हरेक ७ नवजात शिशुमध्ये १ ग्यास्टेशनल डाईबिटिजका साथ धर्तीमा आउँछन् । मानवले मधुमेह विरुद्धको आवाज बुलन्द गर्न नसकेमा भविष्यमा हरेक मानवको रक्त थोपामा मधुमेह नहोला भन्न सकिँदैन ।
मानव स्वास्थ्यका हिसाबले हेर्ने हो भने मधुमेह मात्र नभई सबै प्रकारका रोगहरुका विरुद्धमा जनचेतना फैलाउन जरुरी छ । यही कारणले प्रत्येक वर्षको नोभेम्बर १४ तारिखमा विश्व समुदायले मधुमेह दिवस मनाउँदै आएको छ । मधुमेह विरुद्धमा कदम चाल्नु मात्र नभएर यसको रोकथामका लागि पनि एक भएर लाग्नुको विकल्प मानव समाजलाई छैन । त्यसैले, यस रोगको विरुद्धमा हामी एक भएनौं भने हाम्रा सन्ततिहरुले बिना कारण सजाय पाउनेछन् अर्थात्, मधुमेह लगायतका रोगका कारण अकालमै ज्यान गुमाउने छन् । त्यसैले पनि स्वास्थ्यका लागि सबै सचेत हुन जरुरी छ । आजको दिनमा शुभकामना भन्दापनि सचेतना दिनु उत्तम होला ।
Previous Articleरुप्से दैनिक ! २७ कार्तिक २०७६
Next Article धारिलो हतियार प्रहारबाट महिला गम्भीर