म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुबेतले जिल्लामा विभिन्न रोगबाट ग्रसित बिरामीलाई एकलाख ७४ हजार चारसय रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका बिरामीको उपचारमा सङ्कलन गरिएको आर्थिक रकम हस्तान्तरण गरिएको हो ।
मोना कुबेतले प्रथम मोना कपको अवसरमा अन्नपूर्ण गाउँपालिका–५, शिखका घाँटीमा क्यान्सरपीडित प्रसाद परियार, सवारीसाधन दुघर्टनामा परी घाइते भएका मालिका गाउँपालिका–३, रुमका निलप्रसाद गुरूङ, मृगौलापीडित मानबहादुर पटेल र मृगौलापीडित मालिका गापा–४, ओखरबोटका नरबहादुर किसानलाई सहयोग गरेको छ ।
यसैगरी व्लड क्यान्सरबाट ग्रसित बेनी नगरपालिका–९, रिजनरत्न परियार, बेनपा–५, पुलाचौरका मृगौलापीडित अमित दर्जी, मृगौलापीडित रघुगंगा गाउँपालिका–२, भगवतीका ठाकुर परियार र मंगला गाउँपालिका–५, अर्मनका दिपबहादुर बुढालाई प्रति बिरामी २१ हजार आठसयका दरले सहयोग गरिएको मोना कुबेतका सदस्य अमर कटुवालले बताए ।