प्राकृतिक चिकित्सालयका रुपमा आफ्नो परिचय बनाएको म्याग्दीको तातोपानी कुण्डमा सिसिटिभी जडान भएको छ । बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको प्रसिद्ध तातोपानी कुण्डको परिसरमा कुण्डमा स्नान गर्न आउने बिरामीहरुलाई लक्षित गरी सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
कुण्ड तथा धारामा नुहाउन र स्नान गर्न आउने बिरामी एवं सर्वसाधारणहरुको सुरक्षालाई ध्यान राखेर सिसिटिभी जडान गरी सञ्चालनमा ल्याइएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्ड परिसर, समितिको कार्यालय वैठक कक्ष, शौचालय र धारामा गरी तत्कालका लागि कुल १० ओटा सिसिटिभी क्यामेरा जडान गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए ।
बिरामीको चाप तथा कुण्डको आवश्यकता अनुसार आगामी दिनमा कुण्ड परिसरमा सिसिटिभी क्यामेराहरु समेत थप गरिने अध्यक्ष शाक्यले जानकारी दिएका छन् । यसैगरी बिरामीलाई सूचना प्रवाह गर्नका लागि कुण्ड परिसरभित्र र बाहिर गरी विभिन्न ठाउँमा ४ ओटा साउण्ड स्पिकरहरु पनि जडान गरिएको छ । सिसिटिभी र साउण्ड स्पिकरका लागि कुण्ड व्यवस्थापन समितिमार्फत एकलाख ५० हजार रुपैयाँ खर्च गरिएको अध्यक्ष शाक्यले बताएका छन् ।
सिसिटिभी जडानका लागि मंगला गाउँपालिका–५, अर्मन, पिपलबोट घरभई हाल काठमाडौं निवासी बलभद्र ढकालले आवश्यक खर्च सहयोग गर्ने आश्वासन दिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले जानकारी दिए । तत्कालका लागि भने कुण्ड व्यवस्थापन समितिले आफ्नै खर्चमा सिसिटिभी जडान गर्नुका साथै साउण्ड स्पिकर पनि जोडेको हो । हाल तातोपानी कुण्डमा डुब्न आउने सिजन सुरु भए पनि दसैंलगायत चाडपर्वका कारण कमी भएकाले दसैंलगत्तै कुण्डमा डुब्न आउनेहरु बढ्ने जनाइएको छ ।
तातोपानी कुण्डमा डुब्न र नुहाउनका लागि भन्दै नेपालको अधिकांश जिल्लाका साथै छिमेकी मुलुक भारतसहित तेस्रो मुलुकबाट बिरामीहरु आउने गरेको कुण्ड व्यवस्थापन समितिको भनाइ छ । नेपालको पूर्व–पश्चिम, ईन्डिया, जापान र बङ्गलादेशबाट तातोपानी कुण्डमा नुहाउन नुहाउन आउने गरेका छन् । यसैगरी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु पनि कुण्डमा स्नान गर्नका लागि आउँछन् । कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४सै घण्टा खुला रहन्छन् ।
जमिन मूनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा विरेनुनको स्वादमा निस्कने तातोपानीको कुण्ड आफैमा स्वस्थ मानिन्छ । तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, नसा च्यापिएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहिआएको छ ।
केही समय पहिले कुण्डमा स्नान गर्न आउने बिरामीको चापलाई मध्यनजर गरेर तीनवटा बाथटप क्याबिन र थप एउटा पोखरी निर्माण गरी सञ्चालन गरिएको छ । तातोपानी कुण्डको नजिकै बाथटप क्याबिन र कुण्डभन्दा बाहिर धारा नजिकै डुबुल्की मार्नका लागि एउटा पोखरीको समेत निर्माण गरिएको हो । बाथटपमा एकपटकमा तीन जनाले नुहाउन सक्ने क्षमता रहेको छ ।
Previous Articleजनकल्याण मावि अक्षयकोषको प्रथम अधिवेशन
Next Article बिरामीलाई मोनाको सहयोग