म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७५÷७६ मा नगर क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरुको समीक्षा गरिएको हो ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा नगरपालिकास्तरीय कार्यक्रमको बारेमा स्वास्थ्य संयोजक लिला गौतमले सहजीकरण गरेकी थिइन् । उनका अनुसार गत वर्षमा बेनी नगरपालिकामा कुल छ करोड ४१ लाख चारहजार रुपैयाँ बराबरको विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम तथा बृहत शिविरहरु सञ्चालन गरिएको बताइएको छ । सशर्त र निसर्त गरी करिब साढे छ करोड रुपैयाँ बराबरको स्वास्थ्यका कार्यक्रमहरु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
समीक्षा गोष्ठीमा स्वास्थ्य संयोजक गौतमले बेनी नगरपालिकामा मानव संशाधनको अवस्था, बेनी नगरपालिकाको नीतिगत दस्तावेज तथा समितिहरुको अवस्था, एचएमआईएस प्रतिवेदनको अवस्था, खोप तथा पोषण कार्यक्रम, सुरक्षित मातृत्व, सामुदायिक सेवा, रोग नियन्त्रण, उपचारात्मक सेवा, वित्तीय प्रगतिको अवस्था र बेनपामा कार्यरत साझेदार संस्था, बेनपाको पहलमा गरिएका कार्यहरु र समस्याहरुको बारेमा जानकारी गराएकी थिइन् । यसैगरी लक्षित वर्गका लागि दुईलाख २८ हजार रुपैयाँको स्वास्थ्य बिमासम्बन्धी कार्यक्रमहरु सम्पन्न गरिएका छन् । त्यस्तै बेनी नगरपालिका रहेका बर्थिङ सेन्टरहरुमा आठलाख रुपैयाँ बराबरको औषधी तथा उपकरणहरुको व्यवस्थापन गरिएको जनाइएको छ ।
त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुईलाख रुपैयाँ बराबरको खाजा खुवाइएको छ भने प्रत्येक वडाबाट प्रदान गरिएको स्वास्थ्य सेवाको प्रगति समीक्षा समेत गरिएको छ । नगरपालिका अन्तर्गतका सबै वडाहरुमा महिलाको पाठेघरको क्यान्सरको जाँच गरिनुका साथै शङ्कास्पद रोगीको पहिचान भएको स्वास्थ्य संयोजक गौतमको भनाइ छ । यसैबीच जनस्वास्थ्यसम्बन्धी कार्यक्रमतर्फ पनि विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बेनी नगरपालिकाको नीतिगत दस्तावेज तथा समितिहरुको अवस्था अन्तर्गत हालसम्म बेनी नगरपालिकाको स्वास्थ्य नीति बनेको छैन । पालिकाको सरसफाइसम्बन्धी ऐन, आवधिक योजना, सङ्गठनात्मक तथा मानव संशाधन संरचना, पालिकास्तरीय स्वास्थ्य समिति, गुणस्तरीय सुधार समिति र खरिद समिति समेत बन्न सकेको छैन ।
बेनी नगरपालिकामा ७ ओटा स्वास्थ्यचौकीहरु रहेका छन्भने ४ ओटा सामुदायिक तथा शहरी स्वास्थ्य इकाई, बर्थिङ सेन्टर ५, खोप क्लिनीक २५, गाउँघर क्लिनीक १३ र क्षयरोग डट्स सेन्टर ७ वटा रहेका छन् । यसैगरी बेनी नगरपालिकाभित्र महिला स्वयंसेविका ७२ जना कार्यरत छन् । गतवर्ष बेनी नगरपालिकाको विभिन्न ठाउँमा विशेषज्ञ डाक्टरको उपस्थितिमा बृहत तथा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको थियो । बृहत स्वास्थ्य शिविरका लागि आठलाख रुपैयाँ खर्च गरिएको छ ।
समीक्षा कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका वडाका स्वास्थ्यचौकी इन्चार्जहरुले आ–आफ्नो स्वास्थ्य संस्थाबाट भएका प्रगतिका बारेमा प्रस्तुतीकरण गरेका थिए । स्वास्थ्य संयोजक गौतमले सञ्चालन गरेको कार्यक्रममा सहसंयोजक सोमनाथ उपाध्यायले स्वागत गरेका थिए ।
बेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमको समीक्षा
Previous Articleम्याग्दीमा चार जनामा डेंगु संक्रमण भेटियो
Next Article मंगलामा बक्तृत्वकला प्रतियोगिताको आयोजना