संविधान दिवसको अवसरमा म्याग्दीको मंगला गाउँपालिकाले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ‘शिक्षा बालबालिकाको संवैधानिक अधिकार, गुणस्तरीय शिक्षा हामी सबैको अधिकार’ विषयक बक्तृत्वकलाको आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले संविधान तथा राष्ट्रिय दिवसलाई गाउँपालिका भित्रका सबै वडामा हर्षोल्सासका मनाउन अनुरोध गरेका छन् । नेपाली नागरिकको लामो संघर्ष, त्याग र बलिदानको जगमा जनताको घरदैलोमै सरकार आएको बताउदै उनले शिक्षा नै समृद्ध गाउँपालिकाको आधार भएकाले आधारभूत, मावि र क्याम्पस तहको शिक्षाका योजनाबद्ध तरिकाले अगाडि बढ्ने बताए ।
बक्तृत्वकला प्रतियोगितामा मंगला माविका छात्रा अनुषा सापकोटा प्रथम, राष्ट्रिय जनजागृति मावि पूर्णगाउँका सुदिना केसी द्वितीय, शिद्धशान्ति मावि हिदीका सुस्मिता पूर्जा तृतीय र राष्ट्रिय जनजागृति मावि पूर्णगाउँका प्रवीण खत्रीले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रमका विजेतालाई नगद, स्टेशनरी सामग्री र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिताको अवसरमा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र शिक्षक महासंघ मंगला गाउँपालिकाका अध्यक्ष भद्रबहादुर जिसीले मन्तव्य राखेका थिए । मंगला शिक्षा क्याम्पसका प्रमुख प्रितमबहादुर खत्री, मंगला माविका प्रअ गमबहादुर खत्रीलगायत विभिन्न विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा गाउँपालिका भित्रका ७ विद्यालयका १३ जना विद्यार्थीले सहभागिता रहेको सिजन रोका मगरले जानकारी दिए । कार्यक्रमको अध्यक्षता उपाध्यक्ष सिर्जना केसी, स्वागत हुमनाथ पाण्डे र सञ्चालन गाउँपालिकाका कार्यकारी सचिव राजेन्द्र आचार्यले गरेका थिए ।
Previous Articleबेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमको समीक्षा
Next Article संविधान दिवसको पूर्वसन्ध्यामा बेनीमा सरसफाई