उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविमा गरिमा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शुक्रबार आयोजित कार्यक्रममा ग्रामीण क्षेत्रका अधिकांश जनता वित्तीय पहुँचभन्दा बाहिर रहेको बताइएको छ ।
कार्यक्रमका वक्ताले ठूला बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्ने गरी घरदैलो, टोल, विद्यालयमा वित्तीय साक्षरतासहितको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । साक्षरता कार्यक्रम तथा छात्रवृत्ति वितरण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गरिब तथा विपन्नको घरमा समेत बैंकको पहुँच आवश्यक रहेको बताए । उनले शहरकेन्द्रित हुने बैंक तथा वित्तीय संस्थाको पहुँचमा निम्न वर्गको उपस्थिति निकै कमजोर रहेको बताउँदै वित्तीय साक्षरतासहितका अभियान लिएर गाउँमा आउने बैंकलाई आवश्यकता अनुसारको सहयोग गर्ने बताएका छन् ।
वडा अध्यक्ष रिम कटुवालले म्याग्दीमा गरिमाले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई समेत प्राथमिकता दिएको बताउँदै वित्तीय शिक्षाको महत्व धेरै भएको बताए । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले नेपालको कुल जनसङ्ख्यामध्ये ५० प्रतिशतको हाराहारीमा वित्तीय ज्ञानको पहुँच बाहिर रहेको भन्दै वित्तीय साक्षरतालाई पाठ्यक्रममा समावेश गरी आधारभुत तहदेखि नै अध्ययन, अध्यापन गराउने सरकारी निकायलाई अनुरोध गरिएको समेत बताए ।
बैंकका विभागीय प्रमुख नवीन प्याकुरेलले बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधा, विद्यार्थीले बचत गर्ने तरिका, ग्रामीण क्षेत्रमा बैंकले ल्याएको कर्जा सुविधालगायत विभिन्न विषयमा सहजीकरण गरेका थिए । यसैबीच विद्यालयमा अध्ययरत कक्षा १ देखि १२ सम्मका गरिब तथा जेहेन्दार २५ जना विद्यार्थीलाई झोला, पोशाक, स्टेशनरीलगायत वितरण गरिएको थियो ।
शुक्रबार बेनीमा उद्योग व्यापारीसँग आयोजित कार्यक्रममा वित्तीय संस्था र व्यापारी एक सिकाका दुई पाटा भएकाले सहकार्यबाट अगाडि बढ्ने बैंकका सिईओ ढकालले बताएका थिए । गरिमाले म्याग्दीको सदरमुकाम बेनी, पश्चिम बाबियाचौर, दरबाङ तथा उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा विस्तार गरेको छ ।