नेपाल राज्यको मेरुदण्ड भनेको निजामती कर्मचारीहरु नै हुन् । उनीहरुले आजको दिनमा निजामती दिवसका रुपमा विविध कार्यक्रमका साथ मनाउँदै छन् । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले बिक्रम सम्वत २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । आजकै दिनमा सामान्य प्रशासन मन्त्रालयले पनि उत्कृष्ट सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्ने गर्दछ भने प्रत्येक जिल्लामा पनि भव्य कार्यक्रमका साथ निजामती सेवाका कर्मचारीहरुले पनि आ–आफ्नो तवरले दिवस मनाउँछन् । निजामती सेवा दिवसको अवसरमा म्याग्दीमा आज प्रभातफेरी हुँदैछ भने हिँजो शनिबार रक्तदान भएको थियो । त्यस्तै आजै दिउँसो हृदयघात नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम समेत आयोजना गरिँदैछ ।
विश्वमा प्रगतिको जतिसुकै प्रसंगहरु उछालिए पनि त्यसको असर कति छ भन्ने हेर्नका लागि तल्लो तहसम्मै पुग्नैपर्छ । पछिल्लो तथ्यलाई आधार मान्ने हो भने ७७ करोडभन्दा बढी नागरिकहरु अहिले पनि सामान्य लेखपढ गर्नसम्म पनि नजान्ने छन् । हामीले पनि यहाँ साक्षरता र पूर्ण साक्षरताको कुरा गरिरहँदा पनि प्रत्येक वर्ष साक्षरताका लागि भने करोडौं रुपैयाँ लगानी हुनुले पनि पूर्ण साक्षरता नभएको भन्नका लागि बल पुग्छ । आधुनिक विश्वले साक्षरतालाई आधारभूत मानवअधिकार भन्ने गरेको भए पनि निरक्षरहरुको सङ्ख्या देख्दा मानिसले अरु अनुमान लगाउन पक्कै पनि सहज होला । विश्वको जनसंख्यालाई हेर्ने हो भने अझै पनि प्रत्येक पाँचमध्ये १ जना पुरुष निरक्षर रहेको छन्भने दुई तिहाई महिलाहरु निरक्षर रहेको साक्षरताको ग्लोबल मनिटरिङ रिपोर्टले देखाउँछ । त्यसैले ८ सेप्टेम्बरलाई विश्व साक्षरता दिवसको रुपमा युनेस्कोको आह्वानमा सन १९६५ देखि मनाउन थालिएको हो । दिवस मनाउने मात्र नभएर यसको प्रभावकारिता पनि अब पक्कै हेर्न जरुरी छ ।
मानिस गतिशिल प्राणी हो र जब मानिसले आफ्नो गतिसिलतालाई कम गर्छ विभिन्न प्रकारका समस्याबाट ग्रसित हुन्छ । विभिन्न मांशपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिसिलताको यो दक्षता र अभ्यासबाट विमुख गर्न सक्दछ । यही गतिसिलतालाई कायम राख्न फिजियोथेरापीस्टहरुको सीप अनि अध्यनको आवश्यकता पर्दछ । यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ । सन् १८१३ मा स्वीस जिम्न्यास्ट हेनरिक लिगंले रोयल ईन्स्टिच्युट अफ जिम्न्यास्ट स्थापना गरेसँगै आधुनिक फिजियोथेरापीको सुरुआत भएको मान्न सकिन्छ । तर, सन् १८९४ मा बेलायतमा चाटर्ड सोसाईटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनें फिजियोथेरापीको प्रथम कलेज भनें अमेरिकाको वासिंगटनमा वाल्टर रिड आर्मी अस्पतालमा भएको हो । प्रथम विश्वयुद्धताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको हो । आ–आफ्नै आयाम र माग दावी भए पनि मानव स्वास्थ्यका लागि फिजियोथेरापी महत्वपूर्ण पाटो हो । यसमा सबैले ध्यान दिएको खण्डमा स्वास्थ्यमा राम्रै तवरको सुधार हुने आंकलन गर्नैका लागि प्रत्येक वर्ष ८ सेप्टेम्बरमा फिजियोथेरापी दिवस विश्वभर मनाइन्छ ।