गएको शुक्रबार राती साढे ११ बजेको समयमा भेडीगोठमा चट्याङ पर्दा म्याग्दीमा ६१ ओटा भेडा मरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारस्थित खयरलेक क्षेत्रमा रहेको भेडीगोठमा चट्याङ पर्दा त्यहाँ राखिएका भेडा मरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
चट्याङबाट स्थानीय राजेश तिलिजा, मिनबहादुर गुरुङ, दिलबहादुर शेरपुञ्जा, लालविर तिलिजा, तिलविर तिलिजा, यमबहादुर तिलिजा र कमल तिलिजाको संयुक्त लगानीमा रहेको भेडीगोठमा अचानक चट्याङ परेर ६१ ओटा भेडा मरेको प्रहरीले जनाएको छ । चट्याङ परेकोसम्बन्धी घटनाबारे जानकारी आएलगत्तै क्षतिको विवरण सङ्कलन गर्नका लागि घटनास्थलतर्फ प्रहरी पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।
चट्याङ लागेर घाइते भएका भेडाहरूको सङख्या समेत धेरै भएको हुनसक्ने अनुमान गरिएको छ । जिल्लामा भेडापालनको पकेट क्षेत्र मानिने खयर क्षेत्रमा स्थानीय युवाले एकल तथा सामूहिक लगानीमा भेडापालन गरेका छन् । एउटा भेडाको मुल्य न्युनतम १५ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने गरेको भेडापालक किसानहरु बताउँछन् ।
वर्षौंदेखि भेंडापालन गरिरहेका पाउद्वारका भेडापालक किसानहरुले जनैपूर्णिमा मेला, बडादसैं, तिहारलगायत अन्य चाडपर्वको समयमा सबैभन्दा बढी भेडाहरु बिक्री गर्दै आइरहेका छन् । खयरमा रहेको भेडीगोठमा परेको चट्याङका कारणले गर्दा भेडा मर्दा दशलाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको अनुमान गरिएको छ । चट्याङ लागेर सबैभन्दा धेरै अन्नपूर्ण–६, शिखका वडा सदस्य समेत रहेका राजेश तिलिजाले पालेका भेडाहरुमध्ये २६ वटा भेडा मरेका छन् । सबै कृषकका भेडाहरुलाई गोठालाले एउटै खर्कमा राखेका थिए ।
घटना भएको जानकारी पाएलगत्तै घारमा रहेको प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ । पाउद्वार गाउँदेखि खयरसम्म पुग्न करिब १२ घण्टा उकालो पैदलयात्रा गर्नुपर्ने हुन्छ । भेडाबाट पीडित बनेका कृषकहरुले भने क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि राज्यले उपलब्ध गराउने बिमालगायत सरकारी सेवासुविधा आफूहरुले पाउनुपर्ने माग गरेका छन् । घटनास्थलमा प्रहरी पुग्दै गरेको हुनाले थप विवरण भने आउन बाँकी नै रहेको छ ।
म्याग्दीको अन्नपूर्णको खोप्रालेक तथा खयरबराह क्षेत्र, रघुगंगा गाउँपालिका अन्तर्गत राखुभगवतीको रुईसे–भेडीओढार, बेनी नगरपालिकाको गाजने, डडुवासहित उच्च हिमाली क्षेत्रमा व्यावसायिक रुपमा भेडापालन गर्ने गरिएको छ । पछिल्लो समय विदेशबाट फर्किएका युवाहरु समेत व्यावसायिक भेडा तथा बाख्रापालनतर्फ सक्रिय भएर लागेका छन् । जिल्लामा व्यावसायिक पशुपालनतर्फ युवाहरुको आकर्षण बढ्दै जान थालेको जनाइएको छ ।
विगत केही समय पहिले पश्चिम म्याग्दीको दुर्गम तथा विकट क्षेत्र धौलागिरी गाउँपालिका–१, गूर्जामा पनि चट्याङ पर्दा भेडा मरेका थिए । जिल्लाको गूर्जा, मुदी, मुना, मल्कबाङ, कुईनेमङ्गले, शिखसहित उच्च हिमाली क्षेत्रमा भेडापालन हुँदै आइरहेको छ । हिमाली क्षेत्रका स्थानीयवासिन्दाको आम्दानीको मुख्य स्रोत पनि व्यावसायिक भेडापालन मानिएको छ ।