प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कमजोर भयो भन्दै चलाइएको हल्ला गलत भएको बताउनुभएको छ ।
आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तत्काल सरकार परिवर्तन नहुने पनि बताउनुभयो । सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ मैले सुने पदगुम्छ भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ । मैले पद नगएको कोही देखेको छैन । राजा महाराजा जननिर्वाचित प्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’ प्रधानमन्त्रीले निर्वाचनबाट आएको सरकार विस्थापित गर्न मन भए निर्वाचनसम्म कुर्न पनि आग्रह गर्नुभयो ।
सरकार र व्यवस्थाविरुद्घ हल्ला फैलाउनेहरुलाई प्रधानमन्त्रीले सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी समेत दिनुभयो । ‘सरकारको उदारतालाई हेरेर केही तत्व बढ्ता हौसिएका छन् । संविधानसम्मत चल्ने यो सरकार प्रशन्नातापूर्वक विरोध र आलोचनाको स्वागत गर्छ । तर सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भन्ने त्यो मान्य हुँदैन,’ प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु कोही कसैले नगर्न चेतावनी समेत दिनुभयो ।
लोकतन्त्र विरोधीहरुले सरकारका विरुद्घमा विभिन्न हल्ला चलाउएको भन्दै अनावश्यक हल्लाबाट जनतामा फ्रष्टेसन र निराशा ल्याउने, जनताको विश्वास टुटाउन त्यति सजिलो नभएको बताउनुभयो । देश बनाउने सहि नीतिको सरकार छ, लोकतन्त्र ल्याउन लडेको नेतृत्व छ । अनावश्यक हल्ला कसैले पत्याउनेवाला छैन प्रधानमन्त्रीको भनाई थियो ।
केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट अहिलेको सरकार भाग्छ भन्ने कुरा गलत भएको प्रधानमन्त्रीको भनाई थियो । लोकतान्त्रिक संविधानको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ । त्यसको रक्षा र कार्यान्वयन गनेर्छ । जनताले दिएको म्यान्डेड पनि यही हो । लोकतन्त्र विरोधी तत्वहरु नहोसिए हुन्छ प्रधानमन्त्रीको भनाई थियो ।
सरकारले एक बर्षमा संघिय व्यवस्थाका लागि धेरै भन्दा धेरे कानून बनाएर व्यवस्था सुद्घिड गरेको प्रधानमन्त्रीको भनाई थियो । सरकार सबै पक्षसँग मिलेर अघि बढ्न चाहेको बताउँदै प्रधानमन्त्रीले संवृद्घ नेपाल सुखी नेपालीको लागि सबै पक्ष मिलेर जान आग्रह गर्नू भयो । देश विकासको यो अभिन्न यात्रामा सवै पार्टी एकताबद्ध भएर अगाडी बढन आग्रह गर्नुभयो ।