महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक सामाजिक तथा राजनैतिक हिसाबले पनि सशक्त बनाउनुपर्ने बताउनु भएको छ । म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको स्थलगत अनुगमनपछि बोल्दै थापाले आयआर्जनका क्षेत्रमा अब्बल बनाएको खण्डमा महिलाहरु सबै क्षेत्रमा आफ्नो पहुँच स्थापित गर्दै अब्बल भन्ने बताउनु भएको हो ।
मन्त्री थापाले समाजमा पछाडी परेका महिलाहरुलाई विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी आर्थिक रुपमा सक्षम र सशक्त बनाउनुपर्ने बताउँदै सोही अनुसार देशका ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भयो । देशको आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलाहरुको आर्थिक–सामाजिक रुपान्तरणका लागि कार्यक्रम अगाडि सारिएको उहाँले बताउनु भयो ।
महिलाहरुलाई लक्षित गरेर आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी त्यसबाट उनीहरुलाई आत्मनिर्भर र व्यावसायिक बनाउनुपर्ने मन्त्री थापाले भनाइ थियो । भौतिक संरचनाको विकासले मात्रै केही नहुने हुँदा समाजमा पछाडी परेका वर्गको उत्थान गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक–सामाजिक रुपान्तरणसँगै शोषण, दमन, कुरिती र कु–संस्कारको अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो । उनले समाजमा रहेको अन्धविश्वास हटाउनका लागि सबै क्षेत्रबाट सचेतनामूलक अभियानहरु चलाउनुपर्ने बताउनु भएको छ ।
मन्त्री थापाले जनताको अत्यन्तै नजिक र घरदैलोको सरकार स्थानीय सरकार भएकाले नागरिकको चाहना र स्थानीय आवश्यकता अनुसार बजेट, नीति र कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताउनु भयो । उहाँले देश सङ्घीयतामा गएसँगै स्थानीय तहमा ४१ प्रतिशत र प्रदेश तथा संघमा ३३% महिला जनप्रतिनिधिको बलियो उपस्थिति रहेको भन्दै आधाभन्दा धेरै मत महिलाहरुको रहेकाले महिलाको समस्या समाधानमा सरकारहरु केन्द्रीत हुनुपर्ने बताउनु भयो ।
स्थानीय सरकारले महिलाहरुको आर्थिक–सामाजिक रुपान्तरण हुने खालका महिला सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ छ । नेपालमा धेरै समयपछि स्थायी सरकार निर्वाचित भएर आएको हुँदा यसले नागरिकको आवश्यकता, चाहना र देशको समस्या समाधान गर्नेगरी कार्यक्रमहरु अगाडि सारेको उहाँले बताउनु भयो । सोही कार्यक्रमको अवसरमा मन्त्री थापाले बेनपा–६, डम्बरामा महिलाहरुले सुरु गरेको व्यावसायिक बंगुरपालन र कुखुरापालनको स्थलगत अनुमगन गर्नुका साथै बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षाको स्थलगत अवलोकन गर्नुका साथै विद्यालयको अवस्थाबारे शिक्षकहरुसँग आवश्यक जानकारी लिनु भएको छ ।
कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले समुदायमा महिलामाथि हुने अधिकांश हिंसा आर्थिक परनिर्भरताको कारणले हुनेहुँदा यसको न्युनीकरणका लागि आयआर्जनका कार्यक्रम सञ्चालनमा जोड दिइएको बताउनु भयो । उहाँले नगरपालिकामार्फत पनि महिलालक्षित कार्यक्रमलाई जोड दिइएको बताउँदै राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो ।
महिलालाई सबै हिसाबले सशक्त बनाउनुपर्छ: मन्त्री थापा
Previous Articleचिकित्सक गैरसरकारी, अस्पताल सरकारी
Next Article झपेन्द्र शहिद स्मृती दिबसमा कलाघरलाई सहयोग