जिल्ला अस्पताल डोटीमा दशौं तहको एक मेडिकल सुपरिटेण्डेण्टसहित चार जना चिकित्सकको दरवन्दी छ ।
तर आठौं तहका एक जना चिकित्सक मात्रै कार्यरत छन् । ‘एक जना मेसुसहित दशौं र नवौं तहका दुईजनाको दरवन्दी त छ तर, पदपुर्ति कहिल्यै भएको छैन’ डा. भुषण मिश्रले भने ।
उनको पनि स्थानीय तहमा समायोजन भएको छ । चिठ्ठी आएपछि मैले पनि जानु पर्छ होला । त्यसपछि के हुने हो थाह छैन’ डा. मिश्रले भने ।
समायोजनमा प्रदेशमा जम्मा दुई जना चिकित्सक परेका छन् । जिल्ला अस्पतालहरु प्रदेशको मातहतमा छन् ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पतालमा दुई जना चिकित्सकले कसरी सेवा दिने थाहा छैन ।
जिल्ला अस्पतालमा सरकारी चिकित्सक अभाव भएको यो पहिलो पटक भने होइन । २०६९ सालदेखि डोटी अस्पतालमा गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा चलिरहेको छ ।
अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जनादर्शन जोशीको पहलमा निक साइमन्स इन्टरनेशनल नामक गैरसरकारी संस्थाले दुई जना चिकित्सक पठाएको थियो ।
सेवा सुविधाहरु निक साइमन्सले नै व्यहोर्ने गरी एमडिजिपी डा. गिरीश अवस्थी र एमबीबीएस डा. खुसिद आलम खान कार्यरत छन् । निक साईमन्सले खाएका एमडिजिपीकै भरमा जिल्ला अस्पतालमा जटिल प्रसुति सेवा लगायतका शल्यक्रिया सेवा उपलव्ध गराइएको छ ।
अनलाइनखबरका लागि रामहरी ओझाले तयार पारेको सामग्री