उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको २४औं पोष्टको रुपमा अस्थायी प्रहरी पोष्ट स्थापना गरी उद्घाटन तथा नागरिक सुनुवाई कार्यक्रम गरिएको हो ।
अस्थायी प्रहरी पोष्टको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउनका लागि प्रहरी पोष्ट राखिएको बताएका छन् । नागरिक सुनुवाई कार्यक्रममा स्थानीयले गरेका प्रश्नहरुको जवाफ दिँदै प्रजिअ अधिकारीले प्रहरीलाई आवश्यक सहयोग गर्न अनुरोधसहित जनताको सुरक्षाका लागि आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले शान्तिसुरक्षा कायम गर्न समुदायले प्रहरीलाई गाउँघरमा हुने अपराधजन्य सूचनाहरु दिन माग गरे । उनले तिप्ल्याङमा मुस्ताङ जाने पर्यटकहरुको चहलपहल हुने, बजार क्षेत्र समेत रहेको र दुई गाउँपालिकको सिमानामा रहेकाले सुरक्षाका लागि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जानकारी दिए ।
उक्त प्रहरी पोष्टमा असई विष्णुप्रसाद लाम्सालको नेतृत्वमा ५ जना प्रहरीहरु खटाइएको छ । आगामी दिनमा प्रहरी पोष्टमार्फत गाउँमा मदिरा नियन्त्रण, सामाजिक सुरक्षा कायम, लागूऔषध नियन्त्रण, हिमाली जिल्ला र बेग–बाँदुङ पुल हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि चौबिसै घण्टा खटिने असई लम्सालको प्रतिबद्धता छ ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता, वडा अध्यक्ष बिलबहादुर फगामीको स्वागत रहेको कार्यक्रममा स्थानीय बलवान गर्बुजा र टेकबहादुर गर्बुजाले मन्तव्य राखेका थिए । अस्थायी प्रहरी पोष्ट स्थापना गरिएसँगै यसले जिल्लाको शान्ति सुरक्षामा टेवा पु¥याउने अपेक्षा राखिएको छ ।
Previous Articleसिद्धार्थ बैंकद्वारा गलेश्वरमा वृक्षारोपण
Next Article भ्रष्टाचारको जालो