लायन्स क्लब अफ बेनी पिस सिटीले बेनी नगरपालिका–१, रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा बहुमुल्य बोधिचित्त विरुवा रोपेको छ । भक्तजनको भेटी र चन्दाको भरमा सञ्चालित मन्दिरमा पहिलो चरणमा क्लबद्वारा २० ओटा विरुवाहरु लगाइएको हो ।
शनिबार रत्नेचौरमा आयोजित बोधिचित्त रोपण कार्यक्रममा बोल्दै नियमित संरक्षण गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महतले बताए । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एमजेएफ राजेश शाक्य, जोन चियरपर्सन लोकेश पुनमगरले आयआर्जनका क्षेत्रमा केन्द्रित गरी क्लबले आफ्ना गतिविधिलाई निरन्तरता दिनुपर्ने बताएका छन् । माटो परीक्षण गरी गतवर्ष ३० वटा बिरुवा रोपिएकोमा १७ वटा हुर्किएपछि यसवर्ष समेत थप विस्तार गरिएको क्लबका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
सोही अवसरमा बोधिचित्तको खेतीका बारेमा समेत जानकारी गराइएको थियो । समुन्द्री सतहबाट ४ सयदेखि २५ सय मिटरसम्म लगाउन सकिने भएकाले म्याग्दी जिल्लाको जमिन तथा माटो समेत बोधिचित्तका लागि उपयुक्त मानिन्छ । बोधिचित्तको विरुवा लगाएको २ देखि ३ वर्षभित्र वर्षमा दुईपटक फल दिन्छ भने चैत–वैशाख, साउन–भदौमा दुईपटक फुल्ने र असार–साउन र असोज–कात्तिकमा पाक्ने गर्दछ । विगतमा समेत रत्नेचार निवासी हाल मलेसियामा रहेका दिपक बोगटीले रुद्राक्षको विरुवा लगाइएकोमा फल दिन सुरु गरेको छ ।
जिल्लामा बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिकाको तल्लो क्षेत्रमा रातो माटो भएकाले धेरै क्षेत्रमा यसको सम्भावना रहेको छ । एउटा विरुवा हुर्किसकेपछि खासै हेरचाहको आवश्यकता नपर्ने भएकाले पनि म्याग्दी जस्तो पहाडी जिल्लामा अझै उपयोगी मानिन्छ । कार्यक्रमको बारेमा अध्यक्ष नरेश श्रेष्ठले स्वागत र सञ्चालन सचिव विरेन्द्र श्रेष्ठले गरेका थिए ।
क्लबले स्थापनाकालमा बेनपा–६, डम्बरामा बोधिचित्त विस्तार गरेको थियो । त्यस्तै आर्थिक अभावका कारण शिक्षाबाट बन्चित भएका सोमप्रसाद सापकोटालाई स्नातक तहसम्मको शिक्षासहित विभिन्न सामाजिक कार्यमा सहयोग गरेको थियो ।