नेपालको संविधानले धारा ३५ को उपधारा १ मा सबै नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । सोही धाराको उपधारा ३ मा सबैलाई स्वास्थ्य सेवामा समान पहुँच रहने भनिएको छ । तर, सबै नागरिकको स्वास्थ्यको हकलाई अझै मजबुत बनाउनका लागि भनेर सुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट नागरिकहरूले सोचे जति सेवासुविधा पाउन नसकेको गुनासो बढ्दो छ ।
स्वास्थ्य बीमा ऐन २०७४ को परिच्छेद २ को दफा ३ को उपदफा १ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्ने उल्लेख गरिएको छ । २०७३ साल पुसदेखि म्याग्दीमा सुरू भएको स्वास्थ्य बीमा कार्यक्रम गाउँसम्म पुग्न नसकेको अवस्थामा बीमा गरेकाहरूले पनि सजिलै सुविधा नपाएको बीमितहरू बताउँछन् । सदरमुकाममा रहेको बेनी अस्पतालमा उपचारका लागि पुगेका बेनी–८, का धनप्रसाद श्रेष्ठले आफू र पत्नीको बीमाबाट उपचार गर्दा निश्चित समय कुर्नुपर्ने बाध्यता झेल्नुपरेको गुनासो गरे ।
म्याग्दी जिल्लामा अहिले पश्चिम म्याग्दीको दरबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल, बेनीमा मात्रै स्वास्थ्य बीमा गराएका बीमितले उपचार गर्न पाउँछन् । स्वास्थ्य बीमा कार्यक्रममा आँखाको औषधी उपचारसम्बन्धी पनि सुविधा उल्लेख छ । जस अन्तर्गत् सेवाग्राहीले आँखाको उपचारसँगै वार्षिक एकहजार रुपैयाँ बराबरको चस्मा पाउने भन्ने व्यवस्था पनि छ । तर, जिल्ला अस्पतालभित्र आँखाको उपचार गर्ने सुविधा नभएका कारण बीमा कार्यक्रममार्फत् सेवाग्राहीले आँखाको उपचार सेवा पाउँदैनन् ।
जिल्ला अस्पतालमा आँखाको उपचारका लागि अस्पताल जाँदा बीमामार्फत् उपचार सेवा नपाएको बताउँछन् बेनीका खुमबहादुर बानियाँ । उनीजस्तै धेरै सेवाग्राही बीमाबाटै उपचार हुन्छ भन्दै उपचारका लागि पुगेपनि जिल्ला अस्पतालसँग आँखा उपचारको सुविधा नहुँदा त्यसै फर्किने गरेका छन् । आँखा उपचार केन्द्रबाट बीमा दावी गर्नका लागि प्राविधिक रूपमा नसक्ने भएकाले बीमावापत् आँखाको उपचार गर्न नसकिएको आँखा उपचार केन्द्रका प्रमुख दिनेश बानियाँको भनाइ छ । उनका अनुसार अहिले आँखा उपचार केन्द्रमा एकजना प्राविधिक र कार्यालय सहयोगी मात्र रहेकाले बीमा कार्यक्रमको रेकर्ड राख्ने सफ्टवेयर लगायतका प्राविधिक सामग्री नहुँदा बीमितलाई सेवा दिन सकिएको छैन।
अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले आँखा उपचार केन्द्र अस्पतालको हाताभित्रै भए पनि रेडक्रस र हिमालयन आँखा अस्पतालले एक अर्कासँग समन्वय गरेर चलाएको कारणले गर्दा अस्पतालको फार्मेसीबाट पाइने औषधी तथा अन्य उपचार बीमा क्लेम गर्न अप्ठेरो भएको बताए ।
बीमालाई सर्भसुलभ बनाउने प्रयास राज्यको रहेपनि सदरमुकाम र आसपासका क्षेत्रमै बीमा केन्द्रित भएको जस्तो देखिन्छ । बीमाकर्तामध्ये करिब ५० प्रतिशतभन्दा बढी बेनी नगरपालिकाभित्रका बासिन्दा रहेको र बाँकी बीमाकर्ता मात्रै अन्य पाँचवटा गाउँपालिकाका बासिन्दा रहेको स्वास्थ्य बीमा बोर्ड म्याग्दीले जनाएको छ । ०६८ को जनगणना अनुसार म्याग्दीमा २७ हजार ७ सय ६२ परिवार रहेकोमा हालसम्म १४ प्रतिशत परिवारमा पनि बीमा कार्यक्रम पुग्न नसकेको तथ्याङ्कमा देखिन्छ ।