मंगला गाउँपालिका–३, बराङ्जामा पर्ने पर्यटकीयस्थल झाँक्रीपानीमा भ्यु–टावर निर्माण भएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाको ११ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत १० लाख र स्थानीयको करिब छ लाख रुपैयाँ बराबरको जनश्रमदानबाट तीनतले भ्यु–टावर निर्माण गरिएको हो ।
प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको पहलमा स्थानीय पूर्वाधार विकास समितिबाट बजेट प्राप्त भएको थियो । पक्की पिलर राखेर १४ मिटर अग्लो भ्यु टावरमा रेलिङसहित दृष्याअवलोकन गर्न सहज भएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । भ्यु–टावरले पर्यटकको आगमन हुने बताउँदै उनले गाउँपालिकाको एक सुन्दर गन्तव्य बनाउने प्रयासमा रहेको बताएका छन् ।
आँखै अगाडि अग्ला पहराबाट हिमालका दृष्यहरू ठोकिन्छन् । आसपासमा रहेका अग्ला पहाड, ग्रामीण वस्तीसहित घना वनजङ्गलको दृृष्य अवलोकन गर्न भ्यु–टावर निर्माण गरिएको छ । पूर्वाधारसँगै गण्डकी प्रदेश सरकारको होमस्टे प्रवद्र्धन कार्यक्रम अन्र्तगत डिभिजन वन कार्यालय म्याग्दीमार्फत प्राप्त आठलाख ९२ हजारको लागतमा पदमार्ग समेत बनाइएको छ । होमस्टे सञ्चालनको लागि तालिम लिएका २२ घरधुरीलाई समेटेर पदमार्ग र भ्यु–टावर परिसरमा प्रतिक्षालय निर्माण गरिएको छ ।
त्यस्तै जिल्लाकै एतिहासिक मानिने चिनाकोट दरबार जाने बाटेमा समेत एकलाख ५० हजार खर्च गरी पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष कविन्द्र रोकाले बताए । चिनाकोत दरबारलाई संरक्षण समेत गरिने भएको छ । झाँक्रीपानीमा भ्यु–टावर, पदमार्गसहित एकीकृत सामुदायिक भवन निर्माण भैरहेको छ । गाउँपालिकाको वडा नं ३ र ४ मा अवस्थित बराङ्जा एतिहासिक तथा धार्मिकस्थलको रुपमा रहेको छ ।
बराङ्जाभित्र रहेको दहतालसहित सम्पूर्ण पर्यटकीयस्थललाई एकैसाथ समेट्ने प्रयास गरिएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताइन् । भ्यु टावरको शुक्रबार गाउँपालिका अध्यक्ष रोकासहित, उपाध्यक्ष केसी, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्षद्वय कविन्द्र रोका, ओमबहादुर रोकालगायत प्राविधिकसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो ।
Previous Articleबेनपामा विपद् व्यवस्थापनको तयारी
Next Article ग्लोबल छनोटबाट एक जित टाढा