स्पेनिस महारथी बार्सिलोना विश्व फुटबलको सफल क्लब मानिन्छ । बार्सिलोनाले क्लब फुटबलका प्रायः सबै उपाधिहरु चुमिसकेको छ । बार्सिलोनाले आगामी सिजनमा पनि सबै खाले उपाधि उचाल्नका लागि विश्वस्तरीय खेलाडीहरु अनुबन्धन गरेको छ । त्यसमध्येका एक हुन् फ्रान्सेली स्टार खेलाडी एन्टोनी ग्रिजम्यान ।
फ्रान्सलाई रसिया विश्वकप २०१८ को उपाधि दिलाउन मुख्य भूमिका खेलेका उनले एट्लेटिको मड्रिडमा सफल फुटबल जीवन बिताए । ग्रिजम्यान भर्खरै मात्र बार्सिलोनामा अनुबन्धन भएका छन् । उनी एट्लेटिकोबाट १२० मिलियनमा बार्सिलोनामा अनुबन्धन भएका हुन् ।
ग्रिजम्यानलाई बार्सिलोनामा धेरै कुराको अवसर र चुनौती छ । ग्रिजम्यानका लागि बार्सिलोना अवसर भन्दा धरै चुनौती रहेको फुटबल विश्लेषकहरुले अनुमान गरेका छन् । स्पेनिस मिडिया ‘मार्सा’ले ग्रिजम्यानलाई केही समय बार्सिलोनामा चुनौती धेरै हुने बताएको छ ।
समर्थकको ‘असमर्थन’ रहनसक्ने
स्पेनिस क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड बेलाबेलामा चर्चामा आउने क्लब हुन् । उनीहरु कहिले खेलको विषयमा त कहिले खेलाडी अनुबन्धन देखि लिएर खेलको विषयमा चर्चामा आउने गर्दछन् ।
ग्रिजम्यान आफ्नो बलियो प्रतिस्पर्धि बार्सिलोनामा अनुबन्धन भएका छन् । स्पेन तथा अन्य स्थानका बार्सिलोनाका समर्थकहरुले उनलाई खेलमा समर्थन गर्न केही समय लाग्ने बताइएको छ । किनभने ग्रिजम्यान बार्सिलोनाविरुद्धको खेलमा धेरै पटक विवादमा परेका थिए ।
स्पेनिस पत्रिका मार्साले ग्रिजम्यानलाई स्पेनका समर्थकहरुले कति समर्थन गर्छन् भन्ने विषयमा प्रश्न गर्दा समर्थकहरुले धेरै चासो नदेखाएको बताएको छ । त्यसैले उनलाई केही समय बार्सिलोनाका समर्थकबाट पनि चुनौती आउने देखिन्छ ।
मेस्सी र स्वारेजसँग घुलमिल हुन असहज
बार्सिलोनामा क्लबका कप्तान लियोनल मेस्सी र लुईस स्वारेज ग्रिजम्यान भन्दा सिनियर खेलाडी हुन् । लामो समयसम्म बार्सिलोनाका लागि खेलेका मेस्सी ग्रिजम्यानका लागि आइडल सरह रहेको ग्रिजम्यानले नै बताएका थिए ।
उनीभन्दा धेरै खेल तथा अनुभव बटुलेका मेस्सी र स्वारेजसँग उनी घुलमिल हुन धेरै समय लाग्न सक्छ । बार्सिलोनाका लागि दुबै खेलाडीले खेलेका खेलहरुमा गोल र असिस्टका लागि धेरै ठूलो भूमिका खेलेका छन् ।
ग्रिजम्यानका लागि पनि केही समय घुलमिल हुन समय लाग्ने अवश्य छ । केही समय दुबै खेलाडीहरुसँग तालमेल नमिलुन्जेल उनलाई बार्सिलोनामा असहज हुनेछ ।