बेनी बजारमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बेनी नगरपालिका–९ तिनमानेकी पबित्रा खत्रीलाई छात्रबृत्ती प्रदान गरेको छ । आर्थिक रुपमा विपन्न खत्रीलाई सहकारीले वार्षिक रुपमा म्याग्दी क्याम्पसमा लाग्ने सम्पूर्ण खर्च पुग्ने गरी छात्रबृत्ती स्वरुप रकम उपलब्ध गराएको हो ।
बालकृष्ण तथा सीता खत्रीकी तेश्रो सन्तान पवित्रालाई यस वर्ष १५ हजार ८ सय रुपैंया उपलब्ध गराएको सहकारीका अध्यक्ष लिला बानियाँले बताए । पबित्राले भर्ना शुल्क तिरि सकेकोले बाँकी खर्च उपलब्ध गराएको अध्यक्ष बानियाँले बताए ।
म्याग्दी बहुमुखी क्याम्पसको स्नातक मानविकि संकाय पहिलो वर्ष अध्ययनरत छात्रा खत्रीलाई स्नातक तह उत्तीर्ण हुने समय सम्म छात्रवृत्तिवापत क्याम्पसमा तिर्नु पर्ने सबै खर्च सहकारीले ब्यहोर्ने निर्णय गरीएको सहकारीका सचिव रामजी प्रसाद सुवेदीले बताए ।
शुक्रबार एक कार्यक्रमका बिच पवित्रालाई १५ हजार आठ सय रुपैंयाको चेक हस्तान्तरण गरीएको छ । गलेश्वर माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन सकेकी खत्री स्नातकतह अध्ययनका लागि म्याग्दी क्याम्पसमा भर्ना भएकी छिन् । परिवारको आर्थिक अवस्था कमजोर रहेको थाहा पाए पछि आफूहरुले सहयोगका लागि हात बढाएको सहकारीका प्रवन्धक बसन्त श्रेष्ठले बताए ।
सहकारीले वर्षेनि शिक्षाकोषमा रहेको रकमबाट शेयर सदस्यका सन्तानहरुलाई छात्रबृत्ती प्रदान गर्दै आएको छ । सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने गरीब तथा जेहन्दार तीन जना विद्यार्थीहरुलाई सहयोग गर्दै आएको सहकारीका अध्यक्ष बानियाँले बताए ।
न्यू धौलागिरी सहकारी संस्था लिमिटेडको म्याग्दी जिल्ला र जलजला गाउँपालिका कार्यक्षेत्र रहेको छ । छ करोड २२ लाख १४ हजार १ सय शेयर पुँजी रहेको सहकारीले ३९ करोड बचत संकलन गरेको छ भने ३७ करोड ऋण लगानी गरेको छ ।
Previous Articleलामखुट्टे नियन्त्रणमा सक्रियता
Next Article ओमानमा २०५औँ भानुजयन्ती भब्यताका साथ सप्पन्न