म्याग्दीको सदरमुकाम बेनीबजारस्थित क्याम्पसचोक नजिकै शिक्षामार्गमा रहेको एकजना व्यवसायीको सवारीसाधन तोडफोड भएको छ । क्याम्पसचोकका व्यवसायी नारायणप्रसाद श्रेष्ठको ग २ च २७६८ नम्बरको बोलेरो जीपको शुक्रबार राती अज्ञात व्यक्तिले झ्यालको सीसा तोडफोड गरेको हो ।
क्याम्पसचोकमा श्रेष्ठ टाइम एण्ड साउण्ड सर्भिस पसल सञ्चालन गरेका व्यवसायी श्रेष्ठको शिक्षामार्गमा रहेको गोदाम घर अगाडि राखेको अवस्थामा जीपको सीसा तोडफोड भएको छ । बोलेरो जीपको ड्राइभर बस्ने पछाडिको भाग सीसा तोडफोड भएको साउण्ड सर्भिसका सञ्चालक अम्बिका श्रेष्ठले बताएकी छिन् । उनका अनुसार रातको समयमा अज्ञात व्यक्तिले बियरको बोत्तल प्रहार गरी गाडीको सीसा फुटाएको हुँदा प्रहरीमा जानकारी गराइएको छ ।
सोही विषयमा बुझ्दा म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले भने बोलेरो जीपको सीसा फुटाउने अज्ञात व्यक्तिको खोजी भैरहेको जानकारी दिए । उनले गाडी फुटाउने अज्ञात व्यक्ति वा समूह जो कोही हुनसक्ने भएकाले अनुसन्धान जारीरहेको बताएका छन् । सदरमुकाममै सवारीसाधनको सुरक्षा नहुँदा व्यवसायीहरु भने चिन्तित बनेका छन् ।
Previous Articleदरबाङ बजार संरक्षणका लागि तटबन्ध निर्माण
Next Article अर्जेन्टिना तेस्रो, मेस्सीलाई रातो कार्ड