म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा रहेको पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ बजार संरक्षणका लागि तटबन्ध निर्माण भएको छ । म्याग्दीखोलाको उच्च जोखिममा रहेको बजार क्षेत्रलाई लक्षित गरी खोलामा मेसेनरी पर्खाल निर्माण गरिएको हो ।
वर्षात्को समयमा खोलामा आउने बाढीको कटानको कारण बजार क्षेत्र उच्च जोखिममा रहेकाले बजार संरक्षणमा जुटेको बजार संरक्षण समितिका अध्यक्ष भीमप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार संघीय सरकारबाट रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत २५ लाख रुपैयाँ र गाउँपालिकाबाट आठलाख रुपैयाँ गरी ३३ लाख रुपैयाँ र स्थानीयको १० प्रतिशत श्रमदानमा सो तटबन्ध निर्माण गएिको हो ।
दुई महिनामा निर्माणसम्पन्न भएको आयोजनाबाट १२ सय ६८ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका सचिव प्रविन सिउँथानीले जानकारी दिए । सचिव सिउँथानीका अनुसार ३३ लाख रुपैयाँ बजेट र स्थानीयको १० प्रतिशत श्रमदानमा निर्मााण भएको पक्की पर्खालको लम्बाई ३७ दशमलव ६ मिटर रहेको छ । दोस्रो सदरमुकामले समेत परिचित मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार म्याग्दी नदीको उच्च जोखिममा रहेकाले गाउँपालिकाले नदी नियन्त्रणका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिए ।
दरबाङ बजारसँगै फुलबारी, बाबियाचौर, सदरमुकाम बेनीबजारसहित उच्च जोखिममा रहेका उत्तरी म्याग्दीका बजार संरक्षणका आयोजनाहरु निर्माण भैरहेका छन् । म्याग्दी र कालीगण्डकी नदीका कारण म्याग्दीका अधिकांश वस्तीहरु उच्च जोखिममा रहेका छन् । स्थानीय तह, प्रदेश र केन्द्रबाट नदी संरक्षणका लागि आवश्यक कामहरु भैरहेको भए पनि प्रभावकारी काम हुन नसक्दा समस्या उस्तै रहेको छ ।
Previous Articleबेनपाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत
Next Article अज्ञात व्यक्तिद्वारा व्यवसायीको सवारीसाधन तोडफोड