सिर्जना पन्त
बागलुङ, १८ कात्तिक – आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको लक्ष्यका साथ उत्पादन वृद्धिको अभियानमा लागेका बागलुङका कृषक अदुवाले बजार नपाउदा चिन्तित बनेका छन् ।
जिल्लाको सल्यान गाविस वडा नम्बर ९ ढावाका १५ परिवारले उत्पादन गरेको अदुवा विक्री नभएपछि कृषकहरु चिन्तित बनेका हुन् । उनीहरुले लगाएको अदुवा २ वर्षदेखि बारीमै रहेको छ ।
परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी नगदे बाली मार्फत आयआर्जन गर्न जुटेका ढावाका कृषकहरुलाई पहिलो गाँसमै ढुंगा लागेको उनीहरु बताउछन् ।
छिटो र राम्रो आम्दानीको आसमा २ रोपनी बारीमा ८ क्वीण्टल अदुवा लगाएका कृषक होमनाथ शर्माले मूल्य नपाएका कारण अदुवा दुइ वर्षदेखि बारीमै रहेको गुनासो गरे । शर्माको मात्रै करिब ५० क्वीण्टल अदुवा बारीमै रहेको छ ।
अदुवाको विउ, लगाउनलाई ज्याला लगायत ढुवानीको ज्याला समेत नउठ्ने भएपछि गत वर्षको अदुवा बारीमै रहेको उनको भनाई छ । विक्री गर्दा लगानी पनि नउठ्ने भएपछि बरु बारीमै रहोस् भनेर नखनेको वताए । खन्नका लागि लाग्ने ज्याला त बच्छ, शर्माको गुनासो छ । शर्मा मात्रै होइन ढावाका १५ परिवारले अदुवा उत्पादन गरेका छन् । तर उत्पादित अदुवाले उचित मूल्य नपाएका कारण उत्पादनतर्फ नै वितृष्णा जागेको स्थानीय कृषक नरबहादुर खत्रीले बताए ।
परम्परागत रुपमा कोदो लगाउदै आएको बारीमा अदु्वा लगाएर आम्दानी बढाउने कृषकहरुको उदेश्य पुरा हुन नसकेको केसीको भनाइ छ ।
उत्पादित अदुवा कृषकहरुले आफै बजार व्यवस्थापन गर्न नसकेको र बजार व्यवस्थानका लागि सरोकारवाला सबैलाई अनुरोध गरिए पनि कसैले वास्ता नगरेकोले कृषकहरुमा निराशा पलाएको स्थानीय युवा शन्तबहादुर गौतमले जानकारी दिए ।
स्वदेशमै आत्मनिर्भर हुन सक्ने वस्तुहरु पनि उत्पादन नभएर विदेशबाट ल्याउनु पर्ने वाध्यताको अन्त्यका लागि उत्पादित वस्तुको विक्री तथा प्रशोधनमा सरोकारवालाहरुको ध्यान जानु पर्दछ । कृषकहरुले उत्पादन गरेको अदुवाको बजार व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने जिल्ला कृषि विकास कार्यालय बागलुङले प्रतिवद्धता जनाएको छ ।
Previous Articleराष्ट्रपति मुखर्जीको सवारीका लागि पोखरामा पूर्व अभ्यास
Next Article १८ कात्तिक २०७३, ढोरपाटन दैनिक