गोकुल बानियाँ
पोखरा १८ कात्तिक – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीका लागि पोखरामा पूर्व अभ्यास गरिएको छ । मुखर्जी पोखरा विमानस्थलमा अबतरण भएपछि आरामको लागि जाने होटल र होटलबाट कार्यक्रम स्थल सम्म कसरी लैजाने र विमानस्थलसम्म पुनः कसरी ल्याउने भन्ने वारे सुरक्षा निकायले पूर्व अभ्यास गरेको हो ।
मुखर्जीको सवारीलाई ब्यवस्थित गर्नका लागि अघिल्लो दिन पूर्व अभ्यास गरिएको हो । पूर्व अभ्यासको क्रममा सवारी रुटमा अन्य सबै सवारी बन्द गरिएको थियो । विहिवार विहान गरिएको पूर्वअभ्यासमा सबै सुरक्षा निकायका पोखरा स्थित प्रमुख, क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागीता थियो ।
तीन दिने भ्रमणको अन्तिम दिन भारतीय राष्ट्रपति मुखर्जी जनकपुर हुदै पोखरा आउने कार्यक्रम छ । भ्रमण तालिका अनुसार उनी दिउसो पौने १ बजे पोखरा विमानस्थलमा ओर्लिनेछन् । त्यसपछि विहानी खाना र केहिवेर आरामका लागि विरौटा स्थित होटल पोखरा ग्राण्डमा जानेछन् । त्यसपछि पोखरा १० रामबजार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुने र भूतपूर्व भरतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाको कार्यक्रम सकिएपछि अपरान्ह ४ बजे उनी काठमाडौं फर्किने कार्यक्रम छ ।
मुखर्जी पोखरामा रहने सवा तीन घण्टाको समयलाई सुरक्षित बनाउन पोखरामा १५ सय भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । उनको सुरक्षाका लागि चार वटा सुरक्षा निकायका १४ सय ५९ सुरक्षाकर्मी परिचालित हुनेछन् । स्रोतका अनुसार उनको सुरक्षामा ३८७ नेपाली सेना, ५६४ नेपाल प्रहरी, ४५७ सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ५१ सुरक्षाकर्मी परिचाति हुनेछन् । मुखर्जीको सुरक्षाका लागि विशेष सुरक्षा योजनानै तयार गरिएको छ । सुरक्षालाई चुस्त बनाउन पोखरा नगर क्षेत्रमा सादा पोषाकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालित छन् । सबै सुरक्षा निकायका काठमाडौंबाट आएका विशेष सुरक्षा टोली सादा पोशाकमा नगर क्षेत्रमा खटिसकेका छन् ।
यसैविच मुखर्जीको स्वागतका लागि आवश्यक सबै तयारी पूरा भएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मुल ब्यवस्थापन समिति र अन्य उपसमितिले तयारी पूरा गरेका छन् । राष्ट्रपतिको स्वागतका लागि आवश्यक स्वागतद्धार निर्माण गरिएको छ भने उनको सवारी हुने सडकलाई मर्मत गरिएको छ । विभिन्न जातजातीका झाँकी र बाजागाजा सहित उनको स्वागत गर्ने तयारी छ । कार्यक्रम हुने स्थल पेन्सन क्याम्प भित्रको तयारी पनि पूरा भएको छ । पिसपोखरा
Previous Articleनाकाबन्दीबारे सोध्दा मुखर्जीको अर्कै जवाफ (अन्तरवार्ता)
Next Article बजार नपाउदा २ वर्षदेखि कृषकको अदुवा बारीमै