म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्लाको शान्तिसुरक्षा, सुशासन र विपद् व्यवस्थापनलाई जोड दिइएको बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उनले जिल्लावासीको शान्तिसुरक्षा, सुशासन तथा विपद् न्युनीकरण प्राथमिकतामा राखेको बताएका हुन् ।
गत आर्थिक वर्षको बैशाख १४ गते म्याग्दीको प्रजिअका रुपमा जिल्लामा आएका अधिकारीले हालसम्म ११ ठाउँमा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरेको बताए । उनका अनुसार दुर्गम तथा विकट गूर्जासहित विभिन्न ठाउँमा सञ्चालित शिविरमार्फत नागरिकहरुलाई घरदैलोमै सरकारी सेवासुविधा लिन सहज भएको थियो । एकीकृत घुम्ती शिविरमा मात्रै ५ सय ९६ ओटा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रजिअ अधिकारीले गृह प्रशासन सुधार कार्ययोजना–२०७४, अनुसार जिल्ला प्रशासन कार्यालयमा र कार्यालयमार्फत सेवाग्राहीमैत्री वातावरण निर्माणका लागि विभिन्न कार्यक्रमहरु गरिएको जानकारी दिए । कार्यालय परिसरमा सेवाग्राहीलाई लक्षित गर्दै सूचना दिनका लागि डिजिटल बोर्ड जडान गरी सञ्चालन, स्तनपान कक्ष स्थापना, राहदानीको फाराम भरेको २० दिनमै राहदानी उपलब्ध, सेवाग्राही बस्ने ठाउँ निर्माण गरिएको छ । यसैगरी बेनी–जोमसोम सडकखण्डमा २६ सिटे सवारीसाधनको सिण्डीकेट अन्त्य, ईश्वरी श्रेष्ठ (सुन्तली)लगायत मानसिक सन्तुलनमा समस्या देखिएका महिलाहरुको उद्दार, उपचार र पुनस्र्थापना समेत गरिएको छ ।
एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको ४५ वटै वडामा पुगेर वास्तविक अवस्था बुझिएको बताउँदै प्रजिअ अधिकारीले बजार अनुगमनलाई स्थानीय तहहरुमा समेत सक्रिय बनाएको बताएका छन् । प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई सबलीकरण गर्नका लागि स्थानीय तहबाट आएका निवेदनमा थप निवेदन लेख्ननपर्ने, राहदानी छोटो समयमै उपलब्ध हुने लगायतका सेवाबाट सेवाग्राहीलाई सहज भएको बताए । जिल्लामा हुने नदी दोहन कार्यलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको भन्दै नदी दोहन गर्नेलाई जरिवाना गरी कारवाहीको दायरामा ल्याउने काम गरिएको प्रजिअ अधिकारीको भनाइ छ ।
यसैबीच प्रजिअ अधिकारीले वर्षात्को समयमा हुने सम्भावित विपद् जोखिम न्युनीकरणका लागि आवश्यक त्रिपाललगायत मौज्दात सामग्रीहरु सुरक्षित साथ तयारी अवस्थामा राखिएको बताउँदै विपद पूर्वतयारीको लागि स्थानीय तहहरुसँग समन्वय र सहकार्य भैरहेको जानकारी दिएका छन् । विपद्को सूचना तथा खोज, उद्दारका लागि सहयोग पु¥याउने उद्देश्यले जिल्ला आपतकालीन केन्द्र सञ्चालनमा ल्याइसकिएको हुँदा स्थानीय तह र सुरक्षा निकायको सहकार्यमा जिल्लाको विभिन्न स्थानमा हेलिप्याड बनाउने कार्यलाई तीव्र पारिएको अधिकारी बताउँछन् । ‘एक वडा, एक हेलिप्याड’ भन्ने नारासहित हेलिप्याड बनाउनका लागि अभियान नै सञ्चालन गरिएको छ ।
यसका साथै जिल्लामा शान्तिसुरक्षा कायम गर्न पनि आफू लागिपरेको भन्दै प्रजिअ अधिकारीले अवाञ्छित क्रियाकलापहरुलाई रोक्नका लागि म्याग्दीसँग सीमा जोडिएका जिल्ला पर्वत, बागलुङ र मुस्ताङसँग आवश्यक पहल गरिएको बताएका छन् । पछिल्लो समय सेवाग्राहीमैत्री बन्दै गैरहेको जिल्ला प्रशासनमार्फत सर्वसाधारण नागरिकलाई पहिलो प्राथमिकता दिएर सेवा प्रवाह भैरहेको प्रजिअ अधिकारीले बताए ।