प्रताप बानियाँ
असार महिना भन्नेबित्तिकै हामी हलगोरु, हली–बाँउसे र रोपारहरु (खेताल्नी)लाई सम्झिन्छौं । धेरै खेत हुनेले दुईतीन हलगोरु र खेतालाहरु बोलाएर खेत रोपाईं गर्छन् । थोरै हुनेले पनि एक हलगोरुले जोतेरै भए पनि रोपाईं गर्ने गरेका छन् ।
तर, म्याग्दीमा आइतबार राष्ट्रिय धान दिवसको दिन हलगोरुबिनै खेत रोपाईं गरेर दिवस मनाइएको छ । खेत जोत्न भनेर गरामा पुगेका हली–बाउँसे र रोपाईं महोत्सवका अतिथिहरुले गोरु नभेटेपछि एकैछिन् अलमल्ल परे । रोपाईं महोत्सवको आयोजकले गोरुभन्दा पनि ट्याक्टरले खेत जोतेर धान रोप्ने तयारी पो गरेका रहेछन् । पछि ट्याक्टर भेट्टाएपछि कार्यक्रमका अतिथिले एकैछिन खेत जोत्न भ्याए ।
असार १५ को दिनलाई राष्ट्रिय धान दिवसका साथै दही–चिउरा खाने दिनका रुपमा पनि मान्ने गरिन्छ । यसै दिनलाई सरकारले राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने गरेको छ । असार महिना गाउँघरमा खासगरी ‘मानो खाएर मुरी उब्जाउने’ दिनका रुपमा चिनिन्छ । हरेक वर्ष असार १५ मा रोपाईं महोत्सव गरेर दिवस मनाइन्छ । यस वर्षको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्युनीकरण’ भन्ने तय गरिएको छ ।
राष्ट्रिय धान दिवस–२०७६ को दिन आइतबार कृषि ज्ञान केन्द्र म्याग्दी र महारानी कृषक समूहको संयुक्त आयोजनामा रोपाईं महोत्सव आयोजना गरी दिवस मनाइयो । बेनी नगरपालिका–५, पुलाचौरस्थित कुँडुलेमा धान रोपाईं कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको सबै ठाउँमा रोपाईं महोत्सव आयोजना गरेर दिवस मनाइएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसी र पूर्व सभासद गोविन्द पौडेलले ट्याक्टरले खेत जोत्नुका साथै धान रोपेका थिए । धान दिवसको अवसरमा स्थानीय कृषकहरुले पञ्चेबाजाको धुनमा असारे गीत गाएका थिए । धान रोप्नुका साथै खेतमै कृषकहरुले नाचगान गरे । धान रोप्नका लागि खेतमा पुगेका कृषक र अतिथिहरुले एकापसमा हिलो छ्यापेर रमाइलो समेत गरेका थिए ।
पछिल्लो समय म्याग्दीका गाउँगाउँमा हलगोरु देखिन छाडेका छन् । अधिकांश कृषकहरुले गोरु पाल्न छाडेर मिनी टेलर हलो (ट्याक्टर)को प्रयोग गर्दै आइरहेका छन् । कृषकहरुमा प्रविधि र यान्त्रिकरणको प्रयोगमार्फत पहुँच बढाएर व्यावसायिक बनाउने उद्देश्यसहित रोपाईं महोत्सवमा समेत हलगोरु भन्दा ट्याक्टरको प्रयोग गरिएको महारानी कृषक समूहका सदस्य अमर बानियाँले बताए ।
यसअघि १६औं राष्ट्रिय धान दिवसको उद्घाटन गर्दै सांसद विनोद केसीले गण्डकी प्रदेश सरकारले व्यावसायिक कृषि खेती प्रणालीलाई प्राथमिकता दिइएको हुँदा अब कृषिमा आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्नुपर्ने बताए । कार्यक्रममा पूर्वसभासद तथा नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेसका सचिव क्या. मिनबहादुर कार्की, वडा अध्यक्ष लक्ष्मण बानियाँ र कृषि ज्ञान केन्द्र प्रमुख गोविन्दप्रसाद कोईरालाले मन्तव्य राखेका थिए ।
कार्यक्रम महारानी कृषक समूहका अध्यक्ष विरबहादुर जिसीको अध्यक्षता, सदस्य मुक्तिबहादुर खड्काको स्वागत र कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।