स्वदेशमा केही पनि काम पाइएन भन्दै विदेशिएका यहाँका एक युवा स्वदेश फर्किएर अहिले व्यावसायिक तरकारी खेतीमा लागेका छन् । जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाई गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै उनी रमाएका हुन् ।
म्याग्दीको बेनी नगरपालिका–२, बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । ३० वर्षअघि २० वर्षे लर्के जवानीमा गरिबीका कारण साहुसँग क्रृण लिएर मुग्लानको बाटो समाएका घिमिरेले १० वर्ष साउदी अरब र १० वर्ष खाडीका अन्य मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाई गर्न नसकेपछि घर फर्किए । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरको हातमा पैसा आउदै रह्यो, खेतमा जस्तै जीवनमा पनि हरियाली छाउँदै गयो ।
‘सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाई गर्न नसके पनि मैले हिम्मत हारिन’ घिमिरेले भने, ‘कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहें ।’ २०६६ सालदेखि व्यावसायिक रुपमा अग्र्यानिक तरकारी खेती गर्दै आएका घिमिरेले ७ रोपनी जग्गामा गोलभेडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभी जस्ता मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक ६ लाख रुपैयाँ भन्दाबढी कमाउँछन् ।
खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घर परिवारमा खुसी र सन्तुष्टी पनि छाएको छ । दुई भाई छोरा, श्रीमती र आफू गरी परिवारका ४ जना सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् । तरकारी बिक्री गरेर सरदर मासिक ५० हजार कमाई हुन थालेपछि घिमिरे परिवारले मुग्लानको बाटोमा सधैंलाई बार लगाएका छन् । आफ्नै माटोमा पैसा फलाउन सकिने उपाय मैले मेरो परिवारलाई पनि सिकाएको हुँदा उनीहरुका लागि पनि पैसा कमाउन भनेर कहिल्यै विदेश नपठाउने सोचाई रहेको उनले अनुभव सुनाए ।
घिमिरेले अहिलेसम्म कुनै पनि संघसंस्था वा सरकारी निकायबाट तरकारी खेतीसम्बन्धी तालिम नलिएको बताए । उनले अर्गानिक तरकारी खेती गर्छन् । अर्गानिक तरकारीबाटै घिमिरले वर्षमा ६ लाखभन्दा बढी कमाउँछन् । वर्षमा चारपटक तरकारी उत्पादन गर्दै आएका घिमिरेको ६ जनाको परिवारका लागि यही नै आम्दानीको भरपर्दो स्रोत बनेको छ । घिमिरे बिहान उठेदेखि साँझसम्म तरकारी खेतीमै व्यस्त हुन्छन् ।
दुईवर्ष अघि आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाण्डौ, चितवन र बुटवलसम्म पु¥याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको उनले गुनासो गरे । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि घिमिरेको जीवनस्तर समेत फेरिएको छ । पहिला २÷४ सय आवश्यक पर्दा अरुसँग हात थाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बचत, छोराछोरीको पढाई र घरघडेरी पनि जोडेका छन् ।
Previous Articleलाञ्छना भेदभाव न्युनीकरणसम्बन्धी अभिमुखीकरण
Next Article सहमती जुट्यो बेनी नगरपालिकामा, १५ गते ५ औं नगरसभा