नगरसभा बोलाउने मेरो चाहना छैन: मेयर
मेयर गैरजिम्मेवार बने, जनता सँग माफि माग्ने सम्मको अवस्था छैन: उप–मेयर
गत जेठ ३ गते बसेको नगरकार्यपालिकाको बैठकको एजेण्डा र निर्णयको विषयलाई लिएर बिबाद अगाडी बढ्दै गएपछि झाँगीएको घटनाक्रमका कारणले गर्दा संविधानले तोकेको समय सिमा असार १० गते बेनी नगरपालिकाको बजेट प्रस्तुत हुन सकेन । बजेट तथा कार्यक्रम प्रस्तुन हुन नसक्दा आगामी आर्थिक वर्षमा के हुने भन्ने अन्यौल बढेको छ ।
बेनी नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदमा बिजयी भएका हरिकुमार श्रेष्ठले कार्यपालिकामा भएका ९० प्रतिशत सदस्यहरुको मत भन्दा बाहेक आफैले भनेको निर्णय हुन पर्छ भन्दै जिद्दी पन लाद्दै बेनी नगरपालिकालाई करोडौं रुपैंया नोक्सानी पु¥याएको नेकपा सम्बद्ध कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन् । स्थानिय तहमा प्रमुखले बैठक बोलाउन पर्ने नितिगत व्यवस्था भएको कारणले गर्दा आफूले भने जस्तो नभए सम्म कार्यपालिका बैठक नै नबोलाउने चट्टानी अडान लिँदै नगरपालिकालाई नै बन्धक बनाएको आरोप छ ।
मंगलबार मेयरले एउटा पत्रकार सम्मेलन गरे भने उपमेयर तथा प्रवक्ता लगायतको ९० प्रतिशत कार्यपालिका सदस्यहरुको टोलीले अर्को पत्रकार सम्मेलन गरेको थियो । मेयर हरिकुमार श्रेष्ठले गरेको पत्रकार सम्मेलनमा जेठ तीन गतेको बैठकमा आफ्नो असहमती भएको भन्ने स्पष्टीकरण दिएका श्रेष्ठले बजेट किन नल्याएको भन्ने पत्रकारको प्रश्नमा भने उत्तर दिनै चाहेनन् । मेयरले एक तिहाइ कार्यपालिका सदस्यहरुले बैठक माग गर्दै निवेदन दिएकोले कानुनी बाध्यताका कारणले गर्दा १५ गते विशेष नगरसभा आयोजना गरेको बिज्ञप्ती मार्फत जानकारी गराएका छन् । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माको प्रश्नमा उनले भने कानुनी अड्चनका कारणले गर्दा बैठक बोलाएको हो नत्र म बोलाउने पक्षमा छैन ।
मेयर श्रेष्ठले विज्ञप्तीमा नागरिक समाजको अगुवाईमा नगरपालिकाको बजेट आउनु पर्छ भन्दै असार ९ गते प्रकाशन भएको विज्ञप्तीप्रति समेत आपत्ती जनाएका थिए । मेयर श्रेष्ठले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरबासीले चाहेको र उनले दिन खोजेको कुनै पनि कुराहरु प्रष्ट नआएर झन अन्यौलता बढेको सम्मेलनमा सहभागी पत्रकारको गुनासो थियो ।
मेयर हरिकुमार श्रेष्ठको भन्दा पहिला बेनी नगरपालिकाका उप–मेयर सञ्जु बरुवाल तथा प्रवक्ता रामकृष्णले हस्ताक्षर गरेको विज्ञप्ती सार्वजनिक गर्दै नेकपा सम्बद्ध कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा सञ्जु बरुवाल निकै भाबुक बनेकी थिइन् । उनले आफ्नी आमाको अप्रेसन गर्नु पर्ने भए पनि त्यसलाई थाँती राखेर नगरको बजेट ल्याउनका लागि प्रयास गरेको भए पनि असफल भएको बताएकी थिइन् । ‘कयौं पटक मेयर सँग छलफलका लागि बसेको र कार्यपालिका बैठक डाकेर अगाडी बढ्न भन्दा उहाँले नसुनेको कारणले गर्दा हामीलाई समस्या भयो’ उपमेयरले भनिन् । उनले कुन पार्टी बाट चुनाब जितेर उपमेयर बने भन्दा पनि म बेनी नगरभित्रका ३३ हजार जनसंख्याको उपमेयर हो र मेरो कर्तव्य जनताको सेवा गर्नु नै हो तर अहिले मेयरको जिद्दीका कारणले गर्दा नगपालिका बन्दी बनेको छ । नगर कार्यपालिकाको बैठक डाक्ने र प्रकृयागत रुपमा अगाडी बढ्नु पर्नेमा कुनै पनि काम नगरेर मेयरले आफ्नो जिम्मेवारी पुरा नगर्दा समग्र जनप्रतिनिधिलाई नै अप्ठेरो परेको छ – उपमेयर बरुवालले भनिन् । उपमेयर बरुवालका अनुसार कार्यपालिका बैठक बस्न नसक्दा प्रधानमन्त्री स्वरोजगार कोष, गरिब पहिचान कार्यक्रम र शिक्षा, स्वास्थ्य तथा कृषिको सशर्त अनुदान कार्यक्रम कार्यान्वयन गर्न नसक्दा करोडौं रुपैंया नगरपालिकालाई नोक्सान भएको छ ।
बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले मेयरले आफूहरुलाई बहुमतको दम्भ देखाएको भन्ने आरोप लगाएको भन्दै आरोपको खण्डनमा भने–‘मेयरले नीतिगत अधिकारको दुरुपयोग गर्दै नगरसभा आयोजना नगर्नु दम्भ हो, उहाँले आफू बाहेक सबै १९ जना गलत भन्नु दम्भ कि १९ जनाले एक मतले गर्ने निर्णय दम्भ हुन्छ? प्रतिप्रश्न गरे । बराईलीले भने बहुमत लोकतान्त्रीक साध्य हो दम्भ होइन ।
नगरकार्यापालिका सदस्य कृष्णकुमार विश्वकर्माले आज नगपालिकाको बजेट सार्वजनिक हुन सकेन, अनेक प्रपञ्ज रचेर नियतबस मेयरले गर्नु भएको काम जनताले स्वीकार्ने छैनन । बिश्वकर्माले भने बहुमतको पद्धतिलाई स्वीकारेर बिजयी भएर आएका मेयरले त्यही बिधिबाट हुने बैठकका निर्णहरु मान्दीन भन्नु गलत भएको बताए । विश्वकर्माले भने बजेट ल्याउने तथा अदालतमा बिचारधीन अवस्थामा रहेको मुद्दालाई देखाउँदै बालहठ गर्नु गलत हो ।
दुवै पक्षले विज्ञप्ती प्रकाशन गर्ने र पत्रकार सम्मेलन गर्ने गरे पनि समग्रता हेर्ने हो भने नगरपालिकाको जिम्मेवारी लिनु पर्ने मेयरले नै हो र कार्यपालिका बैठक डाक्ने पनि मेयरले नै भएकोले यस पटक बजेट नल्याउँदा हुने क्षतीको भरपाइ जनताले कसबाट उठाउने भन्ने जिम्मेवारी आम पाठकलाई नै छोड्नु पर्छ । ३३ हजार जनताको प्रतिनिधित्व गर्दै सुविधा उपभोग गर्ने तर नीतिगत केही कमजोरीलाई टेकेर एकल दम्भ देखाउन कसैले पनि हुँदैन ।