‘दीगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने मूल नारासहित सहकारी व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजना र जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा बुधबारदेखि सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सेवाग्राहीलाई सहकारीप्रति विश्वास जगाउनका लागि सञ्चालनमा रहेका सहकारीहरुलाई व्यवस्थित, भरपर्दो र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन तालिमको आयोजना गरिएको बताए । उनले सहकारी संघसंस्थाले वित्तीय कारोबार सँगसँगै व्यावसायिक र उत्पादनमूलक तथा सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
आउँदो सोमबारसम्म ६ दिन सञ्चालन हुने तालिममा प्रदेशस्तरीय कार्यक्षेत्र बनाएका जिल्लास्थित विभिन्न सहकारीका सचालक र कर्मचारी एक–एक जना गरी ३५ जनाले सहभागिता जनाएका छन् । तालिमको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराका शाखा अधिकृत नारायणप्रसाद ढकाल, शाखा अधिकृत भूपेन्द्र विनायक थापा र जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले सहजीकरण गर्नेछन् ।
शाखा अधिकृत ढकालको अध्यक्षता र बेनी नगरपालिकाका सहकारी शाखाका कर्मचारी कुमार रिजालको सञ्चालनमा सम्पन्न तालिमको उद्घाटनसत्रमा जिल्ला सहकारी संघका सचिव ज्योती लामिछानेले मन्तव्य राखेकी थिइन् ।
Previous Articleजामुनाखर्क माविको आयोजनामा शैक्षिक महोत्सव सुरु
Next Article म्याग्दी जेसीजको स्थापना दिवसमा लोकनृत्य प्रतियोगिता