उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम जारीरहेको छ । यसैक्रममा मङ्गलबार अन्नपूर्ण–५, शिखमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजीकरणमा कार्यक्रम गरिएको हो ।
चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा स्थानीयवासीको गुनासो, जिज्ञासा एवं सुझाव सङ्कलन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा स्थानीयवासीहरुले पोखरेबगर–शिख–घोरेपानी सडक निर्माणमा ढिलाई भएकोप्रति गुनासो गरेका थिए ।
यसैगरी शिखलाई आलु पकेट क्षेत्र बनाउने घोषणा गरिए पनि बिउबाहेक कृषिलाई आधुनिकरण गर्न बजेट विनियोजन नगरेको, गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहमा प्रक्रियागत झण्झटिलो, पाउद्धारवासीहरुले वडा कार्यालय टाढा भएकाले सेवा लिन कठिन हुने गरेको, लक्षित समुदायलाई आएको कार्यक्रम सञ्चालनमा ढिलासुस्ती जस्ता विषयमा जिज्ञासा तथा प्रश्न उठाएका थिए ।
कार्यक्रममा सहभागीले उठाएका जिज्ञासा तथा प्रश्नको उत्तर दिँदै गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्बुजाले गाउँपालिकाले सेवा प्रवाहलाई छिटो, छरिटो र चुस्त बनाउन कुनै पनि कसर बाँकी नराख्ने तथा सेवा प्रवाहमा हुने प्रक्रियागत झण्झटिलो हटाउन नीति एवं ऐन निर्मााण गरी अगाडि बढ्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले वस्ती स्तरबाट गाउँपालिकाको सेवा प्रवाहको अवस्था र विकास निर्माण तथा कार्यक्रमको प्रभावकारीता बुझ्नलाई सहजीकरण गर्न सार्वजनिक सुनुवाई गरिएको जानकारी दिए ।
कार्यक्रममा शिखका अध्यक्ष दिनेशकुमार पुनले वडाका सबै बस्तीमा योजनाहरुलाई कार्यान्वयनको अन्तिम चरणमा जुटेको बताउँदै आगामी वर्षका लागि दीगो र उपलब्धिमूलक बनाइने बताए । त्यस्तै शिक्षा शाखाका भरत पुन र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले पनि प्रश्नको जवाफ दिएका थिए ।
गाउँपालिका अध्यक्ष गर्बुजाको अध्यक्षता, म्याग्दी मिडिया सोसाईटीका उपाध्यक्ष हरिकृष्ण गौतम र सदस्य साधन राम्जालीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बरुवाल र कार्यपालिकाका सदस्य विष्णुकुमारी परियारले मन्तव्य राखेका थिए ।
Previous Articleअदितिका सेक्सी पोज पुरै भारतमा हंगामा
Next Article ‘पढाऔं अभियान’ अन्तर्गत विपन्न बालकलाई सहयोग