उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाममा परम्परागत रुपमा भूमेथानको पुजाको अवसरमा जुधाउँदै आएको लिङ्गो जुधाई प्रतियोगिताले युवा पुस्तालाई आकर्षित गरेको छ । प्राचीनकालदेखि भुमेथानको पुजाको अवसरमा लिङ्गो जुधाउने प्रतियोगितालाई नयाँ पुस्ताले समेत पुर्खाको कला र संस्कृतिको रुपमा निरन्तरता दिँदै प्रतियोगिताको जर्गेना गर्ने अभियानलाई यसवर्ष पनि निरन्तरता दिएका छन् ।
प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुशी बनाउन मङ्गलबार जेठी गाउँँबीच लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको हो । दग्नाममा विगत लामो समयदेखिको इतिहास बोकेकोे प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाएका थिए । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजासहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराइएको एकता युवा क्लबका अध्यक्ष गुनबहादुर पुनले बताए ।
उनका अनुसार परम्परागत प्रतियोगिताले दुई गाउँका युवाहरूबीच सांस्कृतिक संरक्षणसँगै भावनात्मक एकता समेत बलियो भएको बताए । करिब ४ घण्टा भएको प्रतिस्पर्धामा कान्छी गाउँ विजय भएको थियो । स्थानीयले पुख्र्यौली, गीत, पञ्चेबाजाको रमाइलो उत्सवसहित जातीय भेषभूषामा सजिएर भूमे देवताको पूजा गरेपछि दिउँसो देवतालाई खुशी बनाउनका लागि लिङ्गो जुधाउने गरेको स्थानीय मोहन पाईजाले बताए । वर्षभरीको खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोपसहित विनाश नहोस्, स्थानीयको मनोकामना पुरालगायत भूमे देवतालाई विधि पुरा गरी पुजाआजा गर्ने गरेको उनले बताएका छन् ।
लिङ्गो जुधाई प्रतियोगिताको अवसरमा रघुगंगा गाउँपालिका अन्तरगत पिप्ले, मौवाफाँट, चिमखोलासहित छिमेकी गाउँबाट समेत अवलोकन गर्न आउने गरेका छन् । पछिल्लो समय प्रतियोगिलाई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न प्रचारप्रसार सुरू गरिएको छ । पुराना कला र संस्कृतिलाई संरक्षण गर्न युवापुस्ताको सक्रियताले बुढापाका समेत उत्साहित छन् ।
Previous Articleदिर्घकालिन पर्यटन
Next Article रावणको जन्मभूमी पौलस्त्य पुलहाश्रम ओझेलमा