नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रघुगंगा गाउँपालिका–५, झीँ र ६ पाखापानीका वडा कमिटीलाई शपथग्रहण गराइएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि वडास्तरमा समेत एकता गरी गठन भएको नेकपाको वडा कमिटीलाई मङ्गलवार शपथ खुवाइएको हो ।
झीँमा नेकपाको वडा कमिटी अध्यक्ष पदम शेरपुञ्जा र पाखापानीमा वडा कमिटी अध्यक्ष खबीर पाईजाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा रघुगंगाका अध्यक्ष दीपक कार्कीले शपथग्रहण गराएका थिए । पाखापानीमा आयोजित कार्यक्रममा नेकपा रघुगंगाका अध्यक्ष कार्की र सचिव हरि भण्डारीले रघुगंगा गाउँपालिकाको भौगोलिक समस्यालाई हल गर्न नेकपाको तर्फबाट आवश्यक पहल भैरहेको बताएका छन् ।
नेताद्वयले स्थानीयस्तरमा रहेका विकासका समस्याहरुलाई प्रदेश र संघीय सरकारमार्फत सम्बोधनको लागि सक्दो पहल गरिएको बताउँदै पार्टी सङ्गठनलाई बलियो बनाउनतर्फ लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । कार्यक्रममा जिल्ला कमिटी सदस्य ओम पुन, गाउँपालिका सङ्गठन कमिटी सदस्य चन्द्रमान छन्त्याल लगायतले मन्तव्य राखेका थिए । निरोज शेरपुञ्जाको स्वागत र हिमाल गोतामेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।