म्याग्दीका स्थानीय तहमा बाल सञ्जाल गठन कार्यक्रम सुरु भएको छ । यसैक्रममा मालिका गाउँपालिकामा गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरिएको छ । मङ्गलबार गाउँपालिकाको केन्द्र दरबाङ बजारमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिकास्तरीय बाल सञ्जाल गठन गरिएको हो ।
सञ्जालको उपाध्यमा मिता पूर्जा, सचिवमा विनय सेती, सहसचिवमा सफल सेञ्चुरी, कोषाध्यक्षमा सवि भट्टचन र सदस्यहरुमा रविना घर्र्ति, मनिसा जुग्जाली, देवि पटेल, मुकेन घर्त, तोरण पुन, दिवाना पुन, माईकल पुन, निशा सुनार, बेजेन्द्र रोका र करिश्मा पुन रहेका छन् । नवनिर्वाचित अध्यक्ष गौतमले गाउँपालिकाभित्र रहेका बालबालिकाको हक, हित र अधिकारका लागि सबै सरोकारवालासँग समन्वयमा बालबालिकासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने बताए ।
साथै उनले गाउँपालिकालाई १८ बुँदे घोषणापत्र बुझाउँदै गाउँपालिकाभित्र बालश्रम अन्त्य, आपतकालीन बाल उद्धार गृह निर्माण, बालविवाहविरुद्धको अभियान सञ्चालन गर्न र विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउनमा आवश्यक वातावरण बनाउन माग गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले गाउँपालिकाले बालबालिबालिकाको हकहित र अधिकारका लागि काम गर्ने बताउँदै सबै बालबालिकालाई शिक्षाको पहुचमा ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिइन् । उनले गाउँपालिकामार्फत भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री बनाउन जोड दिएको भन्दै बालबालिका भविष्यको कर्णधार भएकाले अभिभावकहरुले घरेलु काममा भन्दा उनीहरुको शिक्षामा जोड दिन आग्रह गरेकी छिन् ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका बाल अधिकार स्रोतव्यक्ति मिठु आचार्य र महिला विकास अधिकृत मन्जु ढुङ्गानाले बाल अधिकारसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदी र विद्यार्थी यमुना पुनले मन्तव्य राखेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी नायव निरीक्षक बलराम पौडेल र गाउँपालिका शिक्षा संयोजक तेजप्रसाद लामिछानेको उपस्थिति रहेको थियो । कार्यक्रममा १५ विद्यालयले सहभागिता जनाएका थिए ।
Previous Articleएथलेटिक्स खेलाडी छनौट
Next Article गुफाको डाँडोमा भ्यु–टावर निर्माण सुरु